२०८२ बैशाख ५ , शुक्रवार

सरकारसँग संवाद गर्न आन्दोलनरत शिक्षक तयार

Teacherrss

सुनाखरी न्युज/ काठमाडौ।
नेपाल शिक्षक महासंघ शिक्षा मन्त्रालयसँग संवाद गर्न तयार भएको छ । शिक्षा सचिव दीपक काफ्लेले ‘शिक्षा विधेयकमा छलफल गर्न’ भन्दै बुधबार पत्राचार गरेपछि महासंघले मन्त्रालयसँग बिहीबार छलफल गर्ने भएको हो ।

महासंघकी सहअध्यक्ष एवं काठमाडौं केन्द्रित आन्दोलनकी संयोजक नानुमाया पराजुलीले विधेयकमाथि छलफल गर्न भनेर शिक्षा सचिवले बोलाएका कारण समय मिलाएर जाने निर्णय भएको जानकारी दिइन् । ‘वार्ताका लागि भन्दा पनि छलफलमा हामी जाने हो,’ उनले भनिन्, ‘हामी छलफलमा गए पनि आन्दोलन जारी रहन्छ ।’ शिक्षकहरू २० चैतदेखि सडक आन्दोलनमा छन् भने सोमबारदेखि देशव्यापी शैक्षिक हडताल घोषणा गरेका छन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले ‘समसामयिक विषयमा कुराकानी गर्न’ शिक्षकहरूलाई पत्राचार गरिएको र सकारात्मक जवाफ आएको जनाए ।

सरकारले २१ र २६ चैतमा विज्ञप्तिमार्फत र २२ चैतमा पत्र लेखेर शिक्षकहरूलाई वार्तामा बोलाएको थियो ।