सुनाखरी न्युज/ काठमाडौ।
आगामी वैशाख ५ गतेदेखि सुरु हुने लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा आठ समूह सहभागी हुने भएका छन् ।नेपालगञ्ज रङ्गशालामा हुने खेलमा नेपालका तीन विभागीय टोली, भारतको सिलगुडी फुटबल क्लबसहित आठ समूहको सहभागिता रहने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल सङ्घ समूहले प्रतिस्पर्धा गर्नेछन् ।
बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख पाँच हजार ५५५ र उपविजेता टोलीले रु दुई लाख ५० हजार, ट्रफी र मेडल प्राप्त गर्नेछन् । हरेक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने अन्तरालका कार्यकारी निर्देशक शाहले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता हेर्नका लागि ‘सिजनल फुल प्याकेज’ रु एक हजार ५०० र विद्यार्थीका लागि सहुलियतमा टिकट व्यवस्था गरिएको छ । खेल हेर्नका लागि प्यारापिटअनुसार टिकटको व्यवस्था गरिएको छ । बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले पश्चिम नेपालमा महिला फुटबल खेलाडी उत्पादनमा लुम्बिनी कप महिला फुटबलले सहयोग गर्ने बताउनुभयो ।
रासस