सुनाखरी न्युज/ काठमाडौ।
लामो समयको खडेरीपछिको वर्षाले किसानलाई राहत महसुस गराएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय सिमराका अनुसार आज बिहान पर्सामा ७२ मिलीमिटर र बारामा आठ दशमलव पाँच मिलीमिटर वर्षा भएको छ । वीरगञ्ज महानगर–२१ पटेल नगरका शिवहरि पटेलले वर्षात्को पानीले चैतेधानको लागि फाइदा पुगेको बताउनुभयो । “खडेरीले सबै फसल सुक्न लागिसकेको थियो”, उहाँले भन्नुभयो, “वर्षात्ले केही हदसम्म भए पनि राहत महसुस गराएको छ ।” पछिल्लो समय तराई–मधेसमा गहुँ काट्ने सिजन चलिरहेको छ । चैतेधान तथा मकैखेती सिजन सुरु भएको छ । वीरगञ्ज महानगर–२४ बहुअरीका किसान सितासमा चौहानले वर्षात्को पानीले तरकारीखेती गर्नका लागि सहज भएको बताउनुभयो । पर्सामा ४७ हजार १०३ हेक्टरमा धानखेती हुने गर्छ । त्यसैगरी पर्वत संवाददाताका अनुसार छ महिना लामो खडेरीपछि वर्षा हुँदा कृषकहरूले राहत महसुस गरेका छन् ।
खडेरीले हिउँदे खेती प्रभावित भएपछि निरास बनेका कृषकहरू बुधवार रातीदेखिको वर्षापछि हर्षित भएका हुन् । वर्षा नहुँदा मकै सुक्न थालेका थिएभने कोदो र धानको बीउ उम्रिन सकेको थिएन । वर्षा नभएका कारण गहुँ, आलु, जौ, फापरलगायतको खेती फस्टाउन नपाएको कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले बताउनुभयो । जिल्लामा सिंचाई सुविधा पुगेको आठ हजार हेक्टर बाहेक अधिकांश स्थानका कृषकहरू आकाशे पानीमा निर्भर छन् । “खडेरीका कारण मकै गोडमेल गर्न पाईएको थिएन, अब सहज भएको छ”, ठुलीपोखरीका कृषक रामप्रसाद सापकोटाले भन्नुभयो । ढिलोगरी वर्षा भएपनि बारीमा मकै लगाउन, लहरेवालीलगायत विभिन्न तरकारी र वर्खे आलु खेती गर्न सहज भएको कृषकहरूको भनाई छ ।कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ४० प्रतिशतले ह्रास आएको छ । सबैभन्दा धेरै तेलहन र गहुँवाली प्रभावित भएको बरिष्ठ कृषि विकास अधिकृत अधिकारीले जानकारी दिनुभयो ।
रासस