२०८२ बैशाख १६ , मंगलबार

११ मिनेटको अन्तरिक्ष यात्रा गरी फर्किए ६ महिला

Blue-Oroigin-NS-31-women-team-1024×731

सुनाखरी न्युज/ काठमाडौं ।

६ महिलाहरूको समूह ११ मिनेटको अन्तरिक्ष यात्रा गरी सुरक्षित फर्किएको छ ।

१४ अप्रिल अर्थात् वैशाख १ गते जेफ बेशोजको कम्पनी ब्लु ओरिजिनले पप गायिका केटी पेरी, पत्रकार गेल किङ, नागरिक अधिकारकर्मी एवम् वकिल अमान्डा इन्गुएन, नासाकी पूर्वरकेट वैज्ञानिक आइशा बोवे, फिल्म निर्माता क्यारियन फ्लिन र लरेन सान्चेजलाई अन्तरिक्ष यात्रा गराएको थियो ।

 

बीबीसीका अनुसार अन्तरिक्षमा पुग्दा पप गायिका केटी पेरीले गीत गाएकी थिइन् ।

महिलाहरूको समूहले मात्र अन्तरिक्ष यात्रा गरेको यो पहिलोपटक हो । यसअघि सन् १९६३ मा रुसी अन्तरिक्ष यात्री भेलेन्टिना टेरेश्कोभाले एक्लै अन्तरिक्ष यात्रा गरेकी थिइन् ।

 

महिला टोलीलाई जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले ‘न्यु शेपर्ड–३१’ नामको रकेट मार्फत अन्तरिक्षमा पठाएको थियो । सो रकेटलाई अमेरिकाको पश्चिम टेक्सासस्थित ब्लु ओरिजिन कम्पनीको प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो ।

यो अन्तरिक्ष यान पूर्णरूपमा स्वचालित थियो । यसको अर्थ, अन्तरिक्ष यानभित्र यसलाई सञ्चालन गर्ने कोही चालक आवश्यक परेको थिएन ।

सो अन्तरिक्ष यानको अधिकतम गति २ हजार ३०० माइल प्रतिघण्टा थियो । यो ध्वनिको गतिभन्दा तीन गुणा बढी हो ।

कार्मन रेखा पार गरेर फिर्ता

महिलाहरुको समूह कार्मन रेखा पार गरेर पृथ्वीमा फर्किएका थिए । कार्मन रेखा एउटा काल्पनिक सीमा रेखा हो । यसलाई पृथ्वीको समुद्री सतहबाट १०० किलोमिटर माथिको बिन्दुको रूपमा परिभाषित गरिएको छ ।