२०८२ बैशाख १५ , सोमवार

निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

महेन्द्रनगरस्थित कभर्डहल परिसरमा निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव भएको छ । प्रशिक्षण कक्ष नहुँदा खेलाडीहरुलाई नियमित अभ्यासमा समस्या हुने गरेको छभने अन्य खेलको प्रशिक्षण कक्षमा आश्रय लिनु परेको कुस्ती प्रशिक्षक राजेन्द्रबहादुर चन्दले बताउनुभयो । “कुस्तीका खेलाडीहरुले अन्य खेलको प्रशिक्षण केन्द्रमा आश्रय लिनुपरेको छ”, प्रशिक्षक चन्दले भन्नुभयो, “अहिले बिहान र साँझ समय मिलाएर प्रशिक्षण गरिरहेका छौँ ।” तेक्वान्दोमा सबैभन्दा बढी पदक ल्याउनेमा कञ्चनपुरकै खेलाडी छन् तर उनीहरुका लागि प्रशिक्षण केन्द्र निर्माण भने हुन नसकेको उहाँको भनाइ छ । कुस्ती प्रशिक्षण केन्द्र निर्माणका लागि गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारबाट रु १० लाख बजेट आए पनि रु तीन लाख ‘फ्रिज’ भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

साथै चालु आवमा भने बजेट विनियोजन नै नभएको उहाँको भनाइ छ । जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले बजेट नहुँदा कुस्तीका लागि प्रशिक्षण कक्ष निर्माण हुन नसकेको बताउनुभयो । भट्टले भन्नुभयो, “प्रशिक्षण कक्ष नहुँदा खेलाडीहरुले अभ्यासमा समस्या झेल्नु परेको छ ।” उहाँले आगामी आवको बजेटमा यसका लागि बजेट विनियोजनको प्रयास भइरहेको बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका सदस्य विकास महता खेलाडी उत्पादनका लागि सोही अनुसारको पूर्वाधार जरुरी भएको बताउनुभयो । “कञ्चनपुरमा क्रिकेट, कुस्ती र फुटबललगायतका खेलमा राम्रा खेलाडी उत्पादन भइरहेका छन्, पूर्वाधार निर्माण जरुरी भइसकेको छ ।”

रासस