२०८२ बैशाख १६ , मंगलबार

एसईईको उत्तरपुस्तिका उत्तरपुस्तिकाहरु परीक्षण केन्द्रमा, परीक्षण गर्न गएनन् शिक्षक

National-Exam-Board-SEE

सुनाखरी न्युज/ काठमाडौं ।

शिक्षक तथा कर्मचारीहरुको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुने भएको छ । परीक्षा नियन्त्रक गणेश भट्टराईका अनुसार उत्तरपुस्तिकाहरु परीक्षण केन्द्रमा राखिएको छ । तर शिक्षकहरु कपी जाँच्न गएका छैनन् ।

एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू समावेश थिए ।

‘उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुगेको छ । शिक्षक कुरिरहेका छौं,’ परीक्षा नियन्त्रक भट्टराईले भने, ‘उत्तरपुस्तिका परीक्षण शिक्षकले गर्ने काम हो । अरुले गर्न पनि मिल्दैन ।’

 

उत्तरपुस्तिकासँग विद्यार्थीको भविष्य जोडिएको बताउँदै उनले शिक्षकहरु छिट्टै कपी जाँच्न आउने विश्वास व्यक्त गरे । ‘शिक्षकहरू छिटै फर्किनु हुन्छ भन्ने विश्वास छ,’ उनले भने ।

 

 

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको थियो । तर शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुँदा नतिजा प्रकाशन पनि ढिलो हुने भएको छ ।