सुनाखरी न्युज/ काठमाडौं ।
नेपालगञ्जमा पर्यटन क्षेत्रलाई चलायमान बनाइ राख्न यहाँको होटल व्यवसायमा लगानी थपिँदै गएको छ । नेपालगञ्जमा सञ्चालनमा रहेका तारे होटलले पूर्वाधार विस्तारसँगै सेवा सुविधा स्तरोन्नतिमा लगानी थप्दै गएका छन् भने नयाँ होटलले ठूलो मात्रामा लगानी गरिरहेका छन् । यहाँ निर्माणाधीन पाँचतारे होटल ‘पौवा वेस्टर्न’ले रु एक अर्ब लगानी गर्दैछ । नेपालगञ्जको होटलमा नेपाली हस्पिटालिटीभित्र अन्तरराष्ट्रिय सुविधा रहने गरी एक अर्बको हाराहारीमा लगानी गर्ने योजना बनाएको होटल पौवाका अध्यक्ष दुर्गा भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, पहिलो चरणको काम सम्पन्न भई अत्याधुनिक सभा हल तथा नेपाली रेस्टुरेण्ट सेवा सुरु भइसकेको छ भने मुख्य आवास भवन निर्माण भइरहेको छ । यस क्षेत्रको पर्यटन क्षेत्रलाई चलायमान बनाइ राख्न आवश्यक पूर्वाधार र सुविधामा कमी हुन नदिने उहाँ बताउनुहुन्छ । होटल पौवा नेपालगञ्जका प्रबन्धक गिरिराज पाण्डेले नेपालगञ्जमा सञ्चालित शाखामा फरक–फरक स्वाद र परिकारका पाँच रेष्टुरेण्ट, चार ठूलो सभा हलसहित १४ मिटिङ हल, सात स्वीट रुमसहित ९६ डिलक्स रूम उपलब्ध हुने जानकारी दिनुभयो ।
नेपालगञ्जमा पहिलो होटलका रुपमा नौ तलासहितको एउटै छानामुनी स्पा, स्वीमिङ, जिम सुविधा रहने उहाँको भनाइ छ ।नेपालगञ्जमै सञ्चालित होटल सिटी प्यालेसले पूर्वाधारमा लगानी थप गरी पाँचतारे स्तरको सुविधा उपलब्ध गराउन सक्षम भएको होटलका सञ्चालक लोकेन्द्र अर्यालले बताउनुभयो । उहाँले पाँचतारे होटलको मापदण्डअनुसार पूर्वाधारदेखि लिएर सेवा सुविधाको लागि थप लगानी गरिएको जानकारी दिनुभयो । कोभिड–१९ र त्यसपछिको आर्थिक मन्दीले थलिएको होटल तथा पर्यटन व्यवसाय प्रगतिउन्मुख रहेको होटल व्यवसायी सङ्घ बाँके, नेपालगञ्जका अध्यक्ष रङ्गबहादुर खड्काले बताउनुभयो । उहाँले सुधारतिर गइरहेको अवस्थालाई थप टेवा दिन नीतिगत रुपमै सरकारले सकारात्मक वातावरण बनाइ दिनुपर्ने बताउनुभयो । “बाहिर जे–जस्तो भाष्य स्थापित गर्न खोजिए पनि आर्थिक क्षेत्र चलायमान भइरहेको भन्ने तथ्यले देखाएको छ”, खड्काले भन्नुभयो, “करोडौँ लगानीका होटल त्यत्तिकै खुलिरेहका होइनन्, अवस्थामा सुधार देखिँदै आइरहेको छ ।”
सङ्घका संस्थापक अध्यक्ष मदन बिसीले होटल व्यवसायीप्रतिको बुझाइमा आएको सकारात्मक दृष्टिकोणले व्यावसायिक परिस्थितिमा सुधार ल्याएको बताउनुभयो । “हिजो होटलमा पस्दा बस्दादेखि नै अर्कै नजरले हेरिन्थ्यो, शङ्का गरिन्थ्यो, पछिल्ला दुई दशकमा नेपालीको दृष्टिकोण मै व्यापक परिवर्तन आएको छ, अब त बिहेका भोजमात्रै होइन कन्यादानको पवित्र मण्डपनै होटलमा बन्न थालेका छन्, यसले व्यवसायमा सहयोग पुगेको छ”, उहाँले भन्नुभयो । होटल व्यवसायी सङ्घ बाँकेका निवर्तमान अध्यक्ष भीम कँडेलले व्यावसायिक सुधारका लागि नेपालगञ्जमा धेरै सम्भावना रहेकाले होटल व्यवसाय तथा पर्यटन क्षेत्रलाई चलायमान बनाइ राख्न तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्यको मोडेल बनाएर जानुपर्ने उल्लेख गर्नुभयो । नेपालगञ्ज उपमहानगरपालिका नगरप्रमुख प्रशान्त विष्टले कोभिड–१९ का कारण ठूलो जोखिममा परेको होटल तथा पर्यटन व्यवसाय सुधारोन्मुख अवस्थामा अगाडि बढेकामा खुसी व्यक्त गर्दै पर्यटनका सम्भावनालाई अवसरमा बदल्न सहकार्य आवश्यक रहेको बताउनुभयो ।“नीतिगत समस्यासमेत सुधार गरेरै पनि अब पर्यटनमा दिगो विकास खोजिनुपर्छ, ठूलो राजस्व र रोजगारीको क्षेत्र होटल तथा पर्यटनलाई साथ दिन म प्रतिबद्धत छु”, नगरप्रमुख विष्टले भन्नुभयो, “भारतीय पर्यटक सहज रूपमा आउने वातावरण बनाउन सरकारले ध्यान दिन जरुरी छ ।”
रासस