२०८२ बैशाख १६ , मंगलबार

अग्रजप्रति शब्द श्रद्धाञ्जली

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय समाचार समिति (रासस)का लागि वर्ष २०८१ केही सुखद् र केही दुःखद् रह्यो । सुखद् यस अर्थमा कि यसै वर्ष राससले नेपाल भाषा र मैथिली भाषामा समेत समाचार सेवा सुरु थप गर्यो । दिनमा १७ घण्टा समाचार सेवा प्रदान गर्र्दै आएको राससले यसै वर्ष आफ्नो सेवालाई चौबीस घण्टामा विस्तार गर्यो । अर्थात् यस वर्ष आफ्नो समाचार सेवालाई निरन्तर रूपमा चौबिसै घण्टा सञ्चालन गर्न रासस सफल भयो । त्यस्तै, आफ्नो स्थापना भएको दिन २०१८ फागुन ७ देखिका समाचार बुलेटिनलाई सुव्यवस्थित तरिकाले संरक्षण गर्ने काम पनि राससले यसै वर्ष सम्पन्न गर्यो । विगत छ दशकदेखिका ती बुलेटिन नै राससका वास्तविक अमूल्य सम्पदा हुन्, जो किनेर प्राप्त गर्न सकिँदैन । देशमा आएको परिवर्तनलाई सचित्र रुपमा चित्रण गर्ने प्रयासस्वरुप राससले आफ्ना क्यामेराद्वारा समेटिएका दृष्यहरूलाई पुस्तकका रुपमा जनसमक्ष पुर्याउने दूरगामी महत्वको काम पनि यसै वर्ष सम्पन्न गर्यो ।

तर सुखलाई दुःखले र दुःखलाई सुखले पछ्याउँछ भनेझैँ वर्ष २०८१ मा राससले केही दुःखद् क्षणहरूको पनि सामना गर्नुपर्यो । राससले आफ्नो वृहत् परिवारका तीन सदस्य पूर्वकार्यकारी अध्यक्ष माथवरसिंह बस्नेत, पूर्वप्रमुख समाचारदाता भैरव रिसाल र अन्तरराष्ट्रिय समाचार सेवाकी पूर्वसम्पादक मोहिनी मिश्रलाई सदाका लागि गुमाउनपर्यो । मृत्यु अवश्यम्भावी छ, यो सबैलाई थाहा छ तर यसलाई स्वाभाविक मानेर सहजै स्वीकार गर्न भने सकिँदैन । सायद मृत्युको सबैभन्दा ठूलो विशेषता नै यही हो । उहाँहरूलाई सम्झँदै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नुबाहेक हामीसँग अरु कुनै विकल्प छैन । यसै सन्दर्भमा अग्रजहरूको योगदानको स्मरण तथा उहाँहरूको सत्कर्म र प्रेरणालाई अनुशरण गर्दै अन्तरराष्ट्रियस्तरको समाचार समितिका रुपमा ‘रासस’लाई रुपान्तरण गर्ने अभियानमा सम्बद्ध सबैको साथ–सहयोग रहने विश्वाससहित उहाँहरूप्रति श्रद्धाञ्जली अपर्ण गर्दछु ।

पूर्वअध्यक्ष माथवरसिंह बस्नेत

प्रजातान्त्रिक आन्दोलन र प्रजातान्त्रिक धारको पत्रकारितासँग गहिरो रूपमा आबद्ध बस्नेत चिनाइरहनुपर्ने नाम होइन । प्रजातन्त्र पुनस्र्थापनाका लागि २०४६ सालमा भएको ऐतिहासिक जनआन्दोलनका कमाण्डर सर्वमान्य नेता गणेशमान सिंहसँग अत्यन्तै घनिष्ठ रही आफ्नो राजनीतिक यात्रा गर्नुभएका बस्नेतले नेता सिंहको संस्मरणहरुलाई लिपिबद्ध गरी गहकिलो पुस्तक प्रकाशित गर्ने महत्त्वपूर्ण काम गर्नुभयो । नेपाली कांग्रेसको तत्कालीन सरकारले उहाँलाई राससको कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पिएअनुसार २०५२ देखि २०५४ सालसम्म उहाँले त्यो जिम्मेवारी वहन गर्नुभयो । त्यस जिम्मेवारीमा रहँदा उहाँले राससको उन्नतिका लागि आफ्नोतर्फबाट सक्दो प्रयास गर्नुभएको पाइन्छ । विशेषतः सधैँ बजेटको अभावमा पिरोलिन पर्ने राससको बजेट वृद्धि गराउनमा उहाँले सरकारसँग राम्रो समन्वय गर्नुभएको थियो । यसैगरी राससको अन्तरराष्ट्रिय सम्पर्क र सम्बन्ध बढाउन पनि उहाँ क्रियाशील रहनुभएको थियो । यसैक्रममा २०५३ सालमा भारतको समाचार समिति पिटिआइका अध्यक्षसँग भेटवार्ता गर्न उहाँ नयाँ दिल्लीस्थित पिटिआइको प्रधान कार्यालय पुग्नुभएको थियो । त्यस भेटवार्तामा सहभागी हुने अवसर नयाँ दिल्लीमै तालिमरत यस पङ्तिकारलाई पनि प्राप्त भएको थियो ।

नयाँ दिल्लीस्थित इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसन्स (आइआइएमसी)लाई दक्षिण एसियाकै एक प्रतिष्ठित आमसञ्चार शिक्षण संस्था मानिन्छ । त्यस संस्थाबाट प्रशिक्षित भारतदत्त कोइरालालगायतका वरिष्ठ पत्रकारहरू नेपालको पत्रकारिता जगत्मा स्थापित छन् । राससका पनि धेरै पत्रकारहरु त्यस संस्थाबाट दीक्षित भएका थिए । तर केही वर्षदेखि त्यस संस्थामा राससबाट पत्रकार प्रशिक्षण लिन जाने क्रम रोकिएको थियो । अध्यक्ष बस्नेतले नै भारतीय राजदूतावाससँग सम्पर्क बढाइ पहल गरेको परिणामस्वरुप राससका पत्रकारहरु आइआइएमसीमा प्रशिक्षण लिन जानेक्रम पुनः सुरु भएको थियो । राससमा कार्यकाल पूरा भएपछि बस्नेतलाई सरकारले गोरखापत्र संस्थानको अध्यक्षको र त्यसपछि प्रेस काउन्सिल नेपालको अध्यक्षको जिम्मेवारी सुम्पियो । सधैँजसो हंसमुखसहित रमाइलो मुडमा भेटिने बस्नेत आज हामीबीच हुनुहुन्न तर उहाँसँगका अनेकौँ सम्झना हामीमाझ ताजै छन् ।

पूर्वप्रमुख समाचारदाता भैरव रिसाल

आयु र अनुभवका कारण नेपाली पत्रकारिताका भीष्म पितामह मानिने भैरव दाइको पत्रकारिताको ठूलो पाटो रासससँग जोडिएको थियो । उहाँले ‘हालखबर’ दैनिकबाट पत्रकारिता सुरु गर्नुभएको थियो भने २०१७ सालमा स्थापित ‘सगरमाथा संवाद समिति (ससस)’ बाट एजेन्सी पत्रकारितामा प्रवेश गर्नुभएको देखिन्छ । नेपाल संवाद समिति र ससस गाभिएर २०१८ सालमा ‘रासस’ स्थापना भएपछि पत्रकारिता पेसालाई निरन्तरता दिँदै रासस समाचारदाताको जिम्मेवारीमा रहनुभयो । पे्रस स्वतन्त्रताको अनुभव गर्न नपाइएको पञ्चायतकालमा पनि उहाँले सशक्त पत्रकारिता गर्नुभएको थियो । गाउँघरका गतिविधि र सर्वसाधारण मानिसलाई महत्व दिएर पत्रकारिता गर्ने उहाँको कार्यशैली थियो । राससको समाचार बुलेटिनका पुराना फाइलहरु पल्टाएर हेर्ने होभने उहाँले गाउँघरलाई प्राथमिकता दिएर रिपोर्टिङ गर्नुभएका अनगिन्ती समाचारहरु भेटिन्छन् । उहाँ लगनशील एवं अनुशासनप्रेमी तथा ‘पढेर होइन परेर’ पत्रकारिता गरेका पत्रकार हुनुहुन्थ्यो । राससमा आफ्नो मातहत कार्यरत समाचारदाताहरूलाई तिखारेर क्रियाशील बनाउनमा उहाँको अमूल्य योगदान रहेको थियो ।

हक्की मिजासका भैरव दाइ समाचार स्रोतका अधिकारीहरूले समाचार नदिई लुकाउन खोज्दा सोझै सम्बन्धित मन्त्री कहाँ पुगी आफ्नो कडा प्रतिक्रिया जनाउन पछि पर्नुहुन्न थियो । भर्खर–भर्खर स्थापना भएको राससलाई राज्य संयन्त्र र जनमानसमा चिनाउनमा उहाँको अतुलनीय भूमिका रहेको थियो । आजको जस्तो साधन स्रोतको उपभोग त परै जाओस् कल्पनासम्म पनि गर्न नसकिने समयमा एक कर्मनिष्ठ समाचारदाताको भूमिका निर्वाह गरी उहाँ सबैका लागि प्रेरणाको स्रोत बन्न सफल हुनुभयो । राससबाट अवकाश लिएपछि पनि उहाँले आमजनताका पीरमर्कालाई उजागर गर्ने कर्म भने छोड्नुभएन । एक सक्रिय सामाजिक अभियन्ताको छवि उहाँको व्यक्तित्वको अभिन्न पाटो बन्न गयो । राससका पूर्वप्रमुख समाचारदाता एवं वरिष्ठ पत्रकार भैरव रिसालको विशिष्ट एवं अतुलनीय योगदान, क्रियाशील, प्रेरणादायी एवं उदाहरणीय भूमिकाका कारण नेपाली पत्रकारिता जगत्ले मात्र होइन सिङ्गो नेपाली समाजले सदैव उहाँलाई सम्झने छ ।

अन्तरर्राष्ट्रिय समाचार सम्पादक मोहिनी मिश्र

प्राविधिक सेवाबाट राससमा प्रवेश गरे पनि समाचार सम्पादन सेवामा समेत आफ्नो कुशल कार्यक्षमता प्रदर्शन गर्न सफल मोहिनी मिश्रलाई राससको एक कर्मठ जनशक्तिका रुपमा लिन सकिन्थ्यो । एपी, एएफपी, सिन्ह्वा, पिटिआइजस्ता अन्तरराष्ट्रिय समाचार एजेन्सीहरूबाट राससलाई अङ्ग्रेजी भाषामा प्राप्त हुने संसारभरका समाचारहरूमध्येबाट नेपाली जनमानसलाई चासो हुने समाचार छनोट गरी त्यसलाई नेपालीमा अनुवाद/सम्पादन गरेर राससको बुलेटिनमार्फत दर्जनौँ सेवाग्राही समाचार माध्यमहरूलाई सम्प्रेषण गर्नु कम गहन जिम्मेवारीको काम होइन । कम्प्युटर सर्भर सुपरभाइजरको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहनुभएकी मिश्रले पत्रकारिताप्रति आफ्नो गहन अभिरुचिकै कारण सेवा परिवर्तन गरी समाचार सम्पादनको जिम्मेवारी वहन गर्नुभएको थियो ।

अन्यत्रजस्तै पुरुष जनशक्तिको बाहुल्यता रहेको राससमा महिला जनशक्तिको उपस्थितिमात्र होइन प्रभावकारितासमेत स्थापित गराउनमा पत्रकार मिश्रको भूमिकालाई बिर्सन सकिँदैन । मृदुभाषी र मिलनसार स्वभावका साथै आफ्नो काम, कर्तव्यप्रति सदा सजग र समर्पित पत्रकार मिश्रलाई अल्पायुमै सदाका लागि गुमानउनु पर्दाको पीडा उहाँको परिवारमा मात्र होइन रासस परिवारमा पनि चिरकालसम्म बिझिरहेन छ । सबैलाई सदैव आदर, सम्मान र स्नेहभावका साथ व्यवहारसहित राससकी ‘दिदी बन्न सफल मोहिनी मिश्र हामीबीच नहुनु भए पनि राससको प्राविधिक शाखा र अन्तरराष्ट्रिय समाचार शाखामा पुर्याउनुभएको महत्त्वपूर्ण योगदानका कारण उहाँ स्मरणीय हुनुहुने छ ।
(बस्नेत राससका पूर्वमहाप्रबन्धक हुनुहुन्छ)
रासस