सुनाखरी न्युज/ काठमाडौं ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले बिहीबार पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा यातायात सेवा ठप्प छ । उनीहरुले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले यातायात सेवा प्रभावित भएको हो ।शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरुले २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरूले आन्दोलनलाई पहिलाभन्दा थप शसक्त बनाउँदै गरेका छन् । शिक्षकहरू माइतीघर-बबरमहल-बिजुलीबजार सडक ढाकेरै प्रदर्शनमा उत्रिएका छन् ।
महासंघले सरकारबाट पटक–पटक उधारो आश्वासन पाउँदै आएको भन्दै शिक्षक महासंघले भने शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने जनाएको छ । आन्दोलनको नेतृत्व गरिरहेको महासंघले आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै थप शिक्षक कर्मचारीहरुलाई काठमाडौंमा केन्द्रित भएर आन्दोलन चर्काउन आह्वान गरेको छ ।विद्यालयमा हड्ताल गरेर शिक्षक कर्मचारीहरु आन्दोलनमा उत्रिँदा सरकारी विद्यालयहरुमा नयाँ भर्ना अभियान रोकिएको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका सम्पूर्ण शैक्षिक गतिविधि पनि प्रभावित भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने तयारी गरे पनि अहिलेसम्म उत्तरपुस्तिका परीक्षण सुरु नै नभएकाले नतिजा सार्वजनिक ढिलो हुने सम्भावना छ ।