२०८२ बैशाख २९ , सोमवार

‘काम नगरे निद्रा पर्दैन’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आँवुखैरेनी गाउँपालिका– १ गिरानचौरकी जुरेली गुरुङ ८६ वर्षमा पुग्नुभयो । अन्यका सहारामा बस्नुपर्ने उमेरमा उहाँको दैनिकी भने गाउँमै उत्साहजनक छ । बिहान ५ बज्नु अगावै उठ्ने, बाख्रालाई घाँस र कुखुरालाई दानापानी गरी बिरामी छोरीको स्याहार गर्नु उहाँको दैनिकी बनेको छ । जुरेलीको कर्मशील दैनिकी बुढ््यौली उमेरले छेकेको छैन, झनै सक्रिय बन्दै गएको छ । ‘‘काम नगरेको दिन ज्यान दुख्ने पो हुँदोरहेछ’’, उहाँले भन्नुभयो, ‘‘त्यसैले बिहानै घर लिपपोत गर्नेदेखि छोरीको स्याहार र बाख्रालाई घाँस काट्नेदेखिको खेतीपाती थन्काउने काममा आँफैँ खटिने गर्छु । त्यति गरेपछि मज्जाले निद्रपर्छ, भुसुक्कै भइन्छ ।’’गाउँका मानिसले बुढ्यौलीमा आँखा जचाउन सुझाएपछि अस्पताल जाने तयारीमा रहनुभएकी जुरेली पुस १५ गते ल्होसारको अवसरमा गाउँमा भएको ज्येष्ठ नागरिक महिला बिचको सियोमा धागो छिराउने प्रतियोगितामा प्रथम भएपछि आँखा जचाउन जाने योजना तत्काललाई रोकिएको जुरेलीको भनाइ छ । ‘‘सियोमा धागो छिराएर सात जनालाई मैले जितेपछि गाउँका मान्छेले ठिक रहेछ, आँखा जचाउन जानपर्दैन भने’’ बिहानै घर लिप्दै गर्नुभएकी जुरेलीले सुनाउनुभयो, ‘‘मेरा दमली कोही थलिएका छन् ।

कोही लौरोबिना हिँडडुल गर्न सक्दैनन् । म भने अहिलेसम्म काम गरेरै खाएको छु ।’’ आफ्ना तीन छोरी र एक छोरामध्ये जेठी छोरी ६७ वर्षीया गाउँ नजिकै विवाह भएको, माहिली छोरी ६२ वर्षीया विमायाको बन्दिपुरको झारगाउँमा, कान्छी छोरी ५० वर्षीया छोमायाको तीन वर्षपहिले प्रेसरले देव्रो हड नचल्ने भएपछि जुरेलीले साथमा राखेर रेखदेख गर्दै आउनुभएको छ । सवारी चालक रहेको आफ्नो एकमात्र छोरा ४५ वर्षीय सन्तबहादुर बुहारी र नाति नातिनीसहित पोखरामा बसोबास गर्दै आएको जुरेलीले बताउनुभयो । आफूलाई उच्च रक्तचापको समस्या बाहेक अन्य कुनैपनि समस्या नभएको जुरेलीले बताउनुभयो । ‘‘बुढेसकालमा रगत ठिक गर्ने दवाइ खानैपर्छ भनेर डाक्टरले भनेपछि एक वर्षदेखि सुत्ने बेलामा एक गोली खाने गरेकोछु’’, मनमायाले भन्नुभयो, ‘‘अरु दवाइ केही पनि खान परेको छैन ।’’ आँबुखैरेनी गाउँपालिका– १ मा पर्ने पर्यटकीय गाउँ गिरानचौरमा गुरुङहरुको करिब ४५ घरमध्ये सबैभन्दा पाको उमेरमै गनिनुहुन्छ जुरेली ।

माउ बाख्रा, बोका र पाठापाठीसमेत गरी पाँच वटा बाख्रा र १७ वटा कुखुरा पाल्दै आउनुभएकी जुरेलीले दसँको छेकोमा दुई वटा बोका बेचेर ४८ हजारसमेत हात पारेको बताउनुभयो । ज्येष्ठ नागरिक भत्ता रकमलेसमेत आफूलाई राहत दिएको जुरेलीले बताउनुभयो । धान, आलु, प्याज र लसुन लगाएर करिब ५÷६ महिनासम्मलाई पुग्ने अन्नपातसमेत आफूले नै गर्दै आएको जुरेलीको भनाइ छ । ‘‘दुई वर्ष अघिसम्म त भैँसी पनि पालेर दूध र घिउसमेत बेच्दै आएकी थिएँ’’, उत्साहका साथ जुरेलीले भन्नुभयो, ‘‘हातखुट्टा चलेसम्म अझै एउटा लौनो भैँसी पनि पाल्नुपर्छ की भन्ने ठानेकी छु । दुई चार पैसा जोडेकी छ् । हेरौँ के हुन्छ ।’’ श्रीमान् भीमबहादुरको २५ वर्षअघि मृत्यु भएपछि हाल रोजगारीको सिलसिलामा दुवईमा रहनुभएकी छोरी बिनाले औषधि उपचारको जोहो गरे पनि दैनिक रेखदेख भने आमा जुरेलीले गर्दै आउनुभएको कान्छी छोरी ५० वर्षीया छोमायाले बताउनुभयो । ‘‘तीन वर्षअघि चितवनमा मुटुको शल्यक्रिया गरेपछि देव्रे हड नै नचल्ने भयो’’, छोमायाले भन्नुभयो, ‘‘मेरो हातखुट्टा चल्दासम्म म नै रेखदेख गर्छु भनेर आमाले भनेपछि माइतीमै छु ।’’नियमित औषधिको ख्यालसमेत आमाले गर्नुहुने छोमायाले बताउनुभयो ।

गाउँकै ज्येष्ठ नागरिक जुरेलीको जोश र जाँगरलाई गाउँमै उदाहरणको रुपमा लिने गरिएको स्थानीय ७२ बर्षीया मनमाया गुरुङले सुनाउनुभयो । ‘‘जुरेली दिदीको जोश जाँगर भर्खरका मान्छेको भन्दा पनि बढी छ’’, मनमायाले भन्नुभयो, ‘‘उहाँसँगै खटिएर हामी त के भर्खरका पनिका पनि काम गर्न सक्दैनन् ।’’ गाउँमा बुढ््यौली उमेरमा पनि सक्रिय जुरेलीको जोश जाँगरको चर्चा गिरानचौर पर्यटकीय गाउँ अवलोकनमा आउने सबैजसो पर्यटकले गर्ने गरेको गिरानचौर पर्यटकीय गाउँकी अध्यक्ष ओममाया गुरुङले जानकारी दिनुभयो । ‘‘गाउँ घुम्न आउनेलाई सबैभन्दा पाको उमेरको मान्छे उहाँ नै हुनुहुन्छ भनेर चिनाउने गरेका छौंँ’’, ओममायाले भन्नुभयो, ‘‘जुरेली आमा गाउँकै शोभा हुनुहुन्छ । उहाँजस्तो दैनिक खटिएर काम गर्ने अरु बुढाबुढी गाउँमै छैनन् ।’’ आँबुखैरेनी गाउँपालिकाका– १ नम्बर वडाध्यक्ष प्रेमबहादुर गुरुङले ज्येष्ठ नागरिक जुरेलीको सक्रियता देखेर आफूहरु छक्क पर्ने गरेको बताउनुभयो । “उहाँको खटाइ नै बिहानदेखि बेलुकासम्म हुनेगर्छ’’, वडाध्यक्ष गुरुङले भन्नुभयो, ‘‘बुढ््यौली जीवनमा पनि उहाँको सक्रिय जीवनबाट हामी सबैले सकारात्मक पाठ सिक्नुपर्छ । जुरेली आमा गाउँको मात्रै नभइ आँबुखैरेनी गाउँपालिकाकै प्रेरणाको स्रोत हुनुहुन्छ ।’’

रासस