२०८२ जेठ १ , बुधवार

जस्बिरेको सम्झनामा ‘भैरव सर’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

इलाम, ४ वैशाखः चार दशकअघि इलामको जस्बिरे एउटा सामान्य गाउँ मात्रै थियो । अहिले यो ठाउँ जिल्लाको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित भएको छ । “गाउँमा सडक थिएन, सुख्खाडाँडा उराठलाग्दा थिए । किसान दुःखले गुजारा चलाउँथ्ये । जस्बिरेमा अहिले कालोपत्र सडक छ । ढकमक्क चिया बगान छन् । यो ठाउँ आकर्षक पर्यटकीयस्थल मात्र बनेको छैन, तरकारी, चिया, दूध र नगदेबालीले आर्थिक उपार्जनको केन्द्रसमेत बन्दैछ”, स्थानीय कमल मुखियाले भन्नुभयो । जिल्लाका अन्य गाउँको तुलनामा जस्बिरेले अचानक मुहार फेर्नुमा भैरव सरको महत्त्पूर्ण योगदान रहेको उहाँले बताउनुभयो । ‘भैरव सर’ अर्थात् अगुवा पत्रकार स्व भैरव रिसाल । उहाँको जन्मस्थल इलाम होइन । तर, यहाँको विकासमा रिसालको अतुलनीय योगदान छ । “अहिले जस्बिरेमा जे छ भैरव सरको कारणले हो । उहाँले बाटो नदेखाएको भए सायदै जस्बिरेको विकास सम्भव थियो”, मुखियाले भन्नुभयो, “चियाखेती, आलुखेती गर्ने तरिका उहाँले सिकाउनुभयो । भैरव सरले यो गाउँ नटेक्नुभएको भए यहाँको आर्थिक, सामाजिक विकास यति चाँडै हुने थिएन होला । उहाँको निधनले जस्बिरे शोकमा छ ।”

विसं २०४२ मा स्विट्जल्यान्डअन्तरगतको आलुसम्बन्धी परियोजना लिएर जस्बिरे छिर्नुभएका रिसालले यहाँका किसानलाई पहिलो पटक चियाखेती गर्न सिकाउनुभयो । त्यही चिया अहिले गुणस्तरीय तयारी चियाका रूपमा विश्वका चर्चित देश र सहरसम्म पुग्न थालेका पत्रकार महासङ्घ इलामका अध्यक्ष भीम चापागाईंले जानकारी दिनुभो । उहाँका अनुसार अहिले पनि जस्बिरे र अलि तल्तिर धारापानीमा उत्पादन हुने तरकारीले इलाम बजारको आधाभन्दा बढी माग धानिरहेको छ । जस्बिरेमा रहँदा रिसालले किसानलाई आलु रोप्ने उन्नतविधि सिकाउनुभयो । उहाँकै सक्रियतामा जस्बिरेमा चिया विस्तार आयोजनाको अवधारणा सुरु भएको स्थानीय अगुवा तथा पूर्वशिक्षक सूर्य सुब्बाले बताउनुभयो । त्यसपछि जस्बिरेमा चिया विस्तार आयोजनाको कार्यालय स्थापना भएको भन्दै देशमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डसमेत स्थापना हुनुका साथै अन्य स्थानमा पनि यसको सेवा विस्तार भएको उहाँले जानकारी दिनुभयो । “भैरव सरले यहाँ आएर आलु, चिया खेती गर्न मात्र होइन, गाउँमा विकासको लहर कसरी भित्रयाउन सकिन्छ भनेर गाउँलेका आँखा खोलिदिनुभएको थियो”, सुब्बाले चार दशकअघिको जस्बिरे सम्झिँदै भन्नुभयो ।

परोपकार संस्था, लुथरनको हस्तकलासम्बन्धी कार्यक्रमलगायत महत्त्पूर्ण योजना स्थापना र सञ्चालनमा रिसालको भूमिका उल्लेख्य रहेको स्थानीय मिलन मुखियाले बताउनुभयो । यहाँ बसाइँका बेला उहाँकै पहलमा जस्बिरे र आसपासमा हुलाक, कृषि विकास बैंक स्थापना भएको गाउँले सम्झन्छन् । उहाँका अनुसार जस्बिरेमा दूध सङ्कलन केन्द्र, चिस्यान केन्द्र स्थापना गर्न पनि रिसालको भूमिका महत्त्वपूर्ण रहेको थियो ।“अहिले यहाँका किसान दूध उत्पादन र बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । तत्कालीन समयमा भैरव सरले यहाँको एकीकृत विकासमा अतुलनीय योगदान गर्नुभएको छ”, मुखियाले भन्नुभयो, “जस्बिरेबासीले उहाँले लगाएको गुन बिर्सिएका छैनन्, बिर्सने पनि छैनन् ।”सधैँ ऊर्जावान, जोसिलो, गतिशील र क्रियाशील रिसाल आफूहरूका लागि प्रेरणाको स्रोत भएको स्थानीय युवक प्रेम मुखियाले बताउनुभयो । परियोजनाको जागिर खान आए पनि रिसालले जस्बिरे गाउँलाई जुरुक्क उचाल्न योगदान गर्नुभएको उहाँको भनाइ छ । “त्यतिबेला राजा वीरेन्द्रलाई जस्बिरेसम्म ल्याएर भ्रमण गराउन सबैभन्दा पहिलो भूमिका निर्वाह गर्ने पनि भैरव सर नै हुनुहुँदो रहेछ”, उहाँले भन्नुभयो ।

इलाम नगरपालिकाका कर्मचारीसमेत रहनुभएका मिलनले भन्नुभयो, “पोहोरपरार सम्मान गर्न बोलाएर ‘भैरव सर’ जस्बिरे आउँदा उहाँको सम्मानमा बाटैबाट शिर नझुकाउने गाउँले थिएनन् । उहाँलाई चिन्नेले चिनिहाले, नचिन्ने हामीजस्ता नयाँ पुस्तालाई पनि गाउँका घरघरमा एक सातादेखि उहाँका बारेमा भइरहेको चर्चाले र किस्साले चिनाइसकेको हुन्थ्यो ।” “भैरव सरले यहाँ आएर जागिर मात्र खानुभएन, पुरानो गतिमा सुस्ताइरहेको गाउँलाई चलायमान बनाउनुभयो”, पत्रकार शिव मुखियाले भन्नुभयो, “आलु रोप्न आएका भैरव सरले हरेकको मनमा जाँगर र उत्साहको बीउ रोपिदिनुभएको रहेछ ।” जस्बिरेको विकासका लागि रिसाल ‘मास्टर माइन्डेड’ भएको उहाँको भनाइ छ । जस्बिरे समाजले विसं २०७७ मा ९१ वर्षीय रिसाललाई ‘युवा पुरुष’ उपनाम दिएर सम्मान गरेको थियो । पत्रकार रिसालको गत चैत २५ गते आइतबार साँझ ९७ वर्षको उमेरमा निधन भएको थियो ।

रासस