२०८२ बैशाख ३० , मंगलबार

कृषि पर्यटनबाट रोजगारीमा वृद्धि

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँको बूढानीलकण्ठस्थित आकासे धारामा फैलिएको १४ रोपनी क्षेत्रफलको अर्गानिक फार्म हाउस पछिल्ला दिनमा एक आकर्षक कृषि पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । ताप्लेजुङकी बन्दी शेर्पाले सञ्चालन गर्दै आउनुभएको उक्त फार्म हाउसले हाल आठ जनालाई रोजगारी पनि दिएको छ । करिब १५ वर्षदेखि सञ्चालित यो फार्ममा नियमित रूपमा गाईपालन, बाख्रापालन र अर्गानिक तरकारीखेती हुँदै आएको छ । शेर्पाले फार्मसँगै अर्गानिक रेस्टुरेन्ट पनि सञ्चालन गनुृभएको छ । यहाँ फार्ममा उत्पादित ताजा र अर्गानिक सामग्री प्रयोग हुँदै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार रेस्टुरेन्टमा आउने ग्राहकले स्वस्थ्य, स्वादिलो र पौष्टिक परिकारको स्वाद लिन पाउनुहुन्छ ।बिदा तथा विशेष दिनमा सयौँको सङ्ख्यामा पर्यटक र आगन्तुकको घुइँचो लाग्ने गरेको भन्दै शेर्पाले भन्नुभयो, “कृषिलाई केवल खेतमा सीमित नराखी, पर्यटन र रेस्टुरेन्टमार्फत नयाँ ढङ्गले प्रस्तुत गर्दा आम्दानीको प्रशस्त स्रोत बन्न सक्छ ।”

उहाँका अनुसार फार्म हाउसबाट वार्षिक लाखौंँ आम्दानी भइरहेको छ । ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गरिरहेको उहाँको भनाइ छ । “विदेश पलायन होइन, देशमै केही गर्ने आँट र इमान्दारी भए यहाँ पनि सुन फल्छ”, शेर्पाले युवाहरूलाई आग्रह गर्दै भन्नुभयो, “अर्गानिक कृषि र पर्यटनको संयोजन भविष्य हो । यसमा लगानी र मेहनत गरे सफल बन्न सकिन्छ ।” फार्म हाउसले युवाका लागि रोजगारी सिर्जना गर्नुका साथै व्यावसायिक कृषि र पर्यटनको संयोजनमार्फत आत्मनिर्भरता तर्फको बाटो खोलिदिएको उहाँले बताउनुभयो । यस्ता लघु उद्यमले नेपालको ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन सक्ने सम्भावना बोकेको देखिन्छ । यस्ता उद्यमलाई सरकारी सहयोग, प्रविधि हस्तान्तरण, र बजार पहुँचको सहयोग मिल्यो भने नेपालमा अर्गानिक कृषि र कृषि पर्यटनले राष्ट्रिय अर्थतन्त्रलाई उल्लेखनीय गति दिन सकिने उहाँको धारण्नन छ ।
रासस