२०८२ बैशाख २५ , बिहिवार

पर्यटन प्रवर्द्धनका लागि दुईदिने पैदलयात्रा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

स्थानीय क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने पैदलयात्रा अभियान सुरु हुने भएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका—७ बाघखोरबाट पैदलयात्रा सुरु भई लिम्चुङ्बुङ गाउँपालिका–२ माँझखर्क सातदोबोटेस्थित एभेरष्ट भ्यूटावरसम्म पुग्नेछ । स्थानीयस्तरमा पर्यटन विकास र त्यसको प्रवर्द्धनका लागि अभियानको गर्न लागिएको लिम्चुङ्बुङ गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले नेपाली सेना पशुपति गण गाईघाट बोक्सेसँगको सहकार्यमा पालिकाले पदयात्रा गर्न लागेको बताउनुभयो । “उदयपुरगढीको बाघखोर हुँदै हिजो हाम्रा पुर्खाहरू लिम्चुङ्बुङबाट सिरहाको लहान, मधेस जाने, नुनतेल किनेर आउने पदमार्ग थियो । आज सडकमार्गका कारण यी पदमार्गहरू लोप भएका छन्”, उहाँले भन्नुभयो,“ती मार्गलाई जीवित राख्न र स्थानीयस्तरमा पर्यटन प्रवर्द्धनका लागि पनि यस्तो अभियान सुरु गरिएको हो । ” पैदलयात्राका क्रममा ग्रामीण भेगका जनताको घरदैलो र रहनसहनसँग साक्षात्कार गर्ने अवसर प्राप्त हुने उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष जीतबहादुर खड्काले बताउनुभयो ।

“स्थानिय जनताको घरघरमा गएर ढिँडो, सिस्नो, गुन्द्रुको तरकारीसहित खाना खान पाइने र परम्परागत संस्कृतिको विकास तथा संरक्षण गर्न पनि यस्तो पैदलयात्राले सहयोग पु¥याउने अपेक्षा छ”, उहाँले भन्नुभयो ।आजभन्दा पाँच दशकअघिसम्म खोटाङको हलेसी क्षेत्रबाट लिम्चुङ्बुङको सातदोबाटे भएर उदयपुरगढीको बाघखोर हुँदै सिरहाको लहान बजारलगायत तराईमधेशसम्म जान यही बाटो प्रयोग हुने गरेको उदयपुरगढी पञ्चावती माविका पूर्वशिक्षक इच्छाराम परियार स्मरण गर्नुहुन्छ । यसर्थ हिजो पुर्खाहरूले हिँडेको बाटोको संस्कृतिलाई बचाउन र पर्यटन विकासमा टेवा पु¥याउन पैदलयात्रा सफल हुने उहाँको भनाइ छ ।शनिबार बिहानदेखि सुरु हुने पैदलयात्रामा नेपाली सेनाका गणपति शिवप्रसाद बाग्ले, प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डे, उदयपुर निर्वाचन क्षेत्र नं १ (ख) कोशी प्रदेशसभा सदस्य नारायण बुर्जा मगर, उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर मगर, लिम्चुङ्बुङ गाउँपालिका अध्यक्ष राईलगायत स्थानीय कर्मचारी, राजनीतिक दलका नेतासहित नागरिक समाजका अगुवाहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

रासस