२०८२ बैशाख २५ , बिहिवार

काठमाडौंमा आज राप्रपाको प्रदर्शन, बढाइयो सुरक्षा सतर्कता

Andolan

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।  प्रदर्शनलाई लक्षित गर्दै सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन नयाँबानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालय लगायतका क्षेत्रमा अघिल्ला दिनको तुलनामा आज सुरक्षाकर्मीहरुको टोली बढी देखिन्छ ।

 

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेक तामाङले राप्रपाको प्रदर्शनलाई लक्षित गरी सुरक्षा रणनीति तयार पारिएको बताए । त्यसका लागि आवश्यक सुरक्षाकर्मीहरुलाई विभिन्न ठाउँमा परिचालन गरिएको जानकारी पनि दिए ।

उनका अनुसार निषेधित क्षेत्र तोड्न नदिने र यदि तोड्ने प्रयास भए बल प्रयोग गर्नेसम्मको तयारी छ ।

 

राप्रपाले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै आज बिहान ११ बजे काठमाडौंको बिजुलीबजारमा आज प्रदर्शन गर्दैछ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्न लागेको बताएका छन् । यो प्रदर्शनबाट नडराउन पनि उनले सरकारलाई भनेका छन् ।

 

यसअघि राप्रपाले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्ने निर्णय गरेको जानकारी दिएको थियो । गृह मन्त्रालयले राप्रपाको निर्णयप्रति ध्यानाकर्षण भएको जनाउँदै निषेधित क्षेत्र तोड्न खोजे कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको थियो ।