सुनाखरी न्युज/ काठमाडौं ।
पछिल्लो फिल्म ‘केशरी २’को कमाइले बलिउड अभिनेता अक्षय कुमारलाई राहत मिलेको छ । फिल्मले प्रदर्शनको २ दिनसम्म भारतभर १७.२५ करोड भारु कमाएको छ । ‘केशरी च्याप्टर २ : द अनटोल्ड स्टोरी अफ जालिनवाला बाग’ नामक यो कोर्टरुम ड्रामा फिल्मले ७.७५ करोड भारुको ओपनिङ गरेको थियो । दोस्रो दिन शनिबार ९.५० करोड भारु कमायो ।फिल्ममा अक्षयसहित आर माधवन र अनन्या पाण्डेको शीर्ष भूमिका छ । लगातार फिल्म फ्लप भैरहेको बेला अक्षयलाई यो फिल्मको कमाइले राहत दिएको छ । तर, सन् २०१९ मा रिलिज भएको भन्दा यो फिल्मको कमाइ न्यून हो । फिल्मले पहिलो सप्ताहन्त ३० करोड भारु कमाउन सक्ने प्रक्षेपण भारतीय फिल्मको विश्लेषण गर्ने एजेन्सी स्याकनिल्कले जनाएको छ । भारतीय बक्सअफिसमा अक्षयको केशरी २ लाई सनी देओलको ‘जाट’ले चुनौति दिइरहेको छ । दोस्रो सप्ताहन्तमा कमाइमा गिरावट आएपनि ‘जाट’ले १० दिनसम्म ७० करोड हाराहारीमा कमाइ गरेको छ ।