सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी उपराष्ट्रपति जेडी भेन्स आज चार दिने भारत भ्रमणका लागि दिल्ली आइपुग्दै छन् ।
भारतीय मूलकी श्रीमती ऊषा र तीन सन्तानसहित आज बिहान भारत भ्रमणमा आउन लागेका भेन्सले आजै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनीहरूको स्वागतका लागि सडकहरूमा ठूला–ठूला होर्डिङहरू राखिएको छ भने दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
भेन्स दिल्ली आइपुगेपछि सबैभन्दा पहिले आफ्ना परिवारसहित स्वामीनारायण अक्षरधाम मन्दिर जानेछन् ।
भारतीय समय अनुसार आज साँझ साढे ६ बजे प्रधानमन्त्री मोदीले प्रधानमन्त्री निवासमा भेन्स र उनको परिवारको स्वागत गर्ने कार्यक्रम छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ६० देशमा ट्यारिफ (आयात शुल्क) लगाएको बेला उपराष्ट्रपति जेडी भेन्सको यो भ्रमणलाई चासोका साथ हेरिएको छ । त्यसैले दुवै देशबीच हुने वार्तामा व्यापारको विषय सबैभन्दा प्रमुख बन्ने छ ।
यसका साथै क्षेत्रीय सुरक्षा र आपसी सम्बन्धहरूबारे पनि छलफल हुने अपेक्षा गरिएको छ ।
भारत–अमेरिका व्यापार सम्झौताको पहिलो चरण सम्पन्न गर्न भेन्सको यो भ्रमण महत्त्वपूर्ण मानिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।