२०८२ बैशाख २५ , बिहिवार

साढे १४ करोड हिनामिनामा अध्यक्षसहित ९ जना अझै फरार

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँ महानगरपालिका–२५, इन्द्रचोकमा रहेको आधारभूत बहुउद्देश्यीय सहकारी संस्थाको करिब साढे १४ करोड रुपैयाँ बचत रकम हिनामिना भएको छ ।१४ करोड ४३ लाख ९ हजार ८०५ रुपैयाँ रकम हिनामिना गरी ठगी गरेको आरोपमा ११९ बचतकर्ताले प्रहरीमा जाहेरी दरखास्त दिएका थिए । रकम फिर्ता गराइदिन माग गर्दै बचतकर्ताले जाहेरी दिएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले २०८१ चैत २६ गते सहकारीका प्रबन्धक, अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १० जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो ।उनीहरूविरुद्ध तिर्थराज खनालसहित ५४ जनाले १० करोड २२ लाख ४७ हजार २१७ रुपैयाँ हिनामिना र सानुहजु दैवज्ञसहित ६५ जनाले चार करोड २० लाख ६२ हजार ५८८ रुपैयाँ हिनामिना भएको भन्दै छुट्टाछुट्टै जाहेरी दिएका थिए ।

जाहेरीपश्चात् प्रहरीले सहकारीको कार्यालयमा खानतलासी गरी मुचुल्का उठाएको थियो । तर खानतलासीका क्रममा ठगी कसुर मुद्दामा प्रमाण लाग्ने दशी सामान भने फेला परेको थिएन । सरकारी वकिलको कार्यालयले जाहेरवाला (बचतकर्ता)हरूलाई ठगीमा गर्ने मनसायले आश्वासन बमोजिम रकम फिर्ता नगरी रोक्का राखेको वारदात स्थापित हुन आएको भन्दै १० जनाविरुद्ध मुद्दा दायर गरेको छ । उक्त ठगी प्रकरणमा सहकारीका प्रबन्धक सविना वाग्ले, अध्यक्ष खड्कबहादुर देवकोटा, उपाध्यक्ष रामचन्द्र वाग्ले, सचिव विष्णुकुमार देवकोटा र कोषाध्यक्ष तिलमाया कार्कीलाई प्रतिवादी बनाइएको छ । यसैगरी लेखा समिति संयोजक सुनिल वाग्ले र लेखासमिति सदस्य अर्जुन राय क्षत्रीसहित सदस्यहरू जुना रायमाझी, समीक्षा अधिकारी र सुरक्षा पन्तलाई समेत प्रतिवादी बनाइएको छ ।

जसमध्ये प्रबन्धक वाग्ले पक्राउ परेकोमा अन्य ९ जना अझै फरार छन् । २०७६ पुस २४ गते आधारभूत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा गरी ठगी गरेर फरार आरोपितहरूले सहकारी सञ्चालन गर्न समिति बनाएका थिए । उक्त समितिको अध्यक्ष खड्कबहादुर देवकोटाले योजनाबद्ध रुपमा आफ्नै श्रीमती वाग्लेलाई प्रबन्धक बनाएको अभियोगपत्रमा उल्लेख गरिएको छ । उनीहरुले आफूखुसी बचतकर्ताको खाता रकम शून्य बनाएका थिए । ठगीका क्रममा उनीहरूले व्यक्तिगत कारोबार भनी बैना कागज बमोजिम जग्गा पास गरिदिने प्रलोभन देखाएका थिए । प्रतिवादी बनाइएका फरार प्रबन्धक वाग्लेसहित १० जनालाई नै मुलुकी अपराध संहिता २०७४ को दफा २४९ उपदफा ३ (ग) बमोजिम कारबाही माग गरिएको छ । उनीहरूविरुद्ध आरोप पुष्टि भएमा सात वर्षसम्मको कैद र ७० हजार रुपैयाँसम्मको जरिबाना हुन सक्नेछ ।

प्रबन्धक वाग्लेको प्रहरीसामु इन्कारी बयान
उक्त ठगी प्रकरणमा अध्यक्षसहित ९ जना फरार रहेकोमा प्रबन्धक वाग्ले प्रहरी हिरासतमा छिन् । उनले प्रहरीसामु इन्कारी बयान दिँदै आफू २०७५ सालमा प्रबन्धक पदमा नियुक्त भएको, २०८० मंसिर २८ मा स्वास्थ्य समस्या भई शल्यक्रिया गरेपछि माघ २३ गते राजीनामा दिएको बयान दिएकी छन् । त्यसपछि मात्रै बचतकर्ताले महानगरमा उजुरी दिएको उनको भनाइ छ । राजीनामा दिए पनि राजीनामा स्वीकृत नभइसकेकाले महानगरको सहकारी विभागमा २०८० चैत ४ गते भएको छलफलमा सहभागी भएको उनको भनाइ छ । उक्त छलफलमा दुई वर्षभित्र बचतकर्ताको रकम फिर्ता गर्ने सहमति भएको उनले बयानमा बताएकी छन् । आफूले दिएको राजीनामा २०८१ जेठ ४ गते स्वीकृत भएको र राजीनामा दिँदा हरहिसाब क्लियरेन्स समेत प्रदान गरिएको वाग्लेले भनेकी छन् ।

राजीनामा दिई सहकारीबाट छुट्टिसकेकाले त्यसपछि के–कति कारणले बचतकर्ताले उजुरी दिएको हो भन्ने आफूलाई थाहा नभएको उनको भनाइ छ । उनीमाथि बचतकर्ता तिर्थराज खनालको रकम फिर्ता नगरेको पनि आरोप छ । उक्त विषयमा उनले खनालसँग आफूले राजीनामा दिइसकेपछि भेट भएको दाबी गरेकी छन् । २०८१ साउन १ गते खनालसँग भेट भई नवलपरासी (वर्दघाट सुस्तापूर्व)मा आफ्नो नाममा रहेको जग्गा खरिद गर्न खनालले चेक काटी ३ लाख रुपैयाँ बैना दिएको उनको भनाइ छ । तर जग्गा बैना गर्ने क्रममा रोक्का रहेकाले फुकुवा भएपछि पास गर्ने सहमति भएको बताउँदै वाग्लेले निर्धारित समयमा पास हुन नसकेको बयान दिएकी छन् । उनले खनालसँगको कारोबार सहकारीसँगको नभई व्यक्तिगत लेनदेन भएको पनि दाबी गरेकी छन् ।