२०८२ बैशाख २३ , मंगलबार

तीनकुनेको घरमा आगो लगाउने एटीएफका कार्यकर्ताविरुद्ध कर्तव्य ज्यानको मुद्दा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा तीनकुनेस्थित घरमा आगजनी गर्ने दुई जनालाई कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान अघि बढाइएको छ । उनीहरूले आगो लगाउँदै गरेको भिडियोसहितका प्रमाण भेटिएपछि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान गरेर बयान लिने काम सुरु भएको हो ।सोही घरमा पत्रकार सुरेश रजक पनि जलेको अवस्थामा मृत भेटिएका थिए । सोही घरमा आगजनी गरेको आरोपमा एटीएफ (अनवरत तत्पर फौज)का दुई कार्यकर्तालाई प्रहरीले ३१ चैतमा पक्राउ गरेको थियो ।पक्राउ परेका रामेछापको सुनापति गाउँपालिका–१ का २२ वर्षीय सरोज गौतम र अछामको पञ्चदेवल नगरपालिका घर भएका २० वर्षीय गोकर्ण शाहीविरुद्ध कर्तव्य ज्यानको कसुरमा पनि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसरका एक अधिकृत बताउँछन् । शाहीले माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड गर्ने काममा खटिएको देखिएको प्रहरीको भनाइ छ । अन्य ठाउँका तोडफोड र आगजनीमा पनि उनको संलग्नता रहेको प्रहरीको भनाइ छ । यसका साथै राजावादी प्रदर्शनका जनकमाण्डर तोकिएका प्रसाईंविरुद्ध पनि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रसाईंको नेतृत्वमा १५ चैतमा भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो । पत्रकारसहित दुई जनाको मृत्यु भएको तीनकुने घटनाको मुख्य योजनाकार प्रसाईं भारतको आसामबाट २८ चैतमा पक्राउ परेका थिए । २९ चैतमा काठमाडौं ल्याएर उनीमाथि अनुसन्धान अघि बढाइएको छ । झापाको बिर्तामोड नगरपालिका–५ का ५४ वर्षीय विवादास्पद व्यक्ति प्रसाईंले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ चलाइरहेका थिए । उनैको महाअभियानलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १५ चैतमा तीनकुनेमा सभा गर्नका लागि अनुमति दिएको थियो । राजा फर्काउने दाबी गर्दै १५ चैतमा प्रसाईंको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भएको थियो । तर उक्त प्रदर्शन हिंसात्मक बन्यो । प्रदर्शनमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र प्रदर्शनकारीले घरमा लगाएको आगोमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भयो । व्यक्तिको घर जलाइए । पसल, मार्ट तोडफोड भए । निजी सम्पत्तिमा ठूलो क्षति भयो । सवारी साधन जलाइए । प्रहरीको बन्दुक लुटियो ।

रासस