२०८१ आश्विन १२ , शनिवार

अन्तराष्ट्रिय अन्तरधार्मिक सद्भाव सप्ताहका अवसरमा छलफल कार्यक्रम

सुनाखरी न्युज/ काठमाडौं – अन्तराष्ट्रिय अन्तरधार्मिक सद्भाव सप्ताहका अवसरमा प्रदेश सरकार, स्थानीय सरकार, धर्मगुरु तथा धार्मिक अगुवाबीच सहकार्यका लागि छलफल कार्यक्रम सम्पन्न भएको छ ।

 

संयुक्त राष्ट्रसंघको आह्वानमा फेब्रुवरी महिनाको १ तारिखदेखी ७ तारिखलाई अन्तराष्ट्रिय अन्तरधार्मिक सद्भाव सप्ताहकारुपमा मनाउने गरिन्छ । मधेश प्रदेशका महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री विरेन्द्र प्रसाद सिंङ, शुदुरपश्चिम सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्का, राष्ट्रिय योजना आयोगका सह सचिव डा. किरण रुपाखेती, महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ लगायतको उपस्थिती रहेको कार्यक्रममा नेपालमा प्रचलित सबै धर्मका अगुवाहरुको सहभागिता रहेको थियो । राष्ट्रिय अन्तर धार्मिक सञ्जालको आयोजनामा, वल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) र सीआईएनको संयोजनमा भएको कार्यक्रममा राष्ट्रिय अन्तर धार्मिक सञ्जाल नेपालका अध्यक्ष हर्ष थापाले समाजमा सद्भाव कायम गर्न र गलत परम्पराको रूपमा रहेको बालविवाह रोक्नका लागि धर्मगुरुहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले महालक्ष्मी नगरपालिकाले सबै धर्मलाई समेटेर अन्तरधार्मिक संग्राहालय निर्माण गर्ने घोषणा गर्नु भयो । एक अर्काको धर्म, दर्शनको सम्मान गर्दै सद्भाव र शान्ति प्रवर्द्धनका लागि धर्मगुरुहरुबीचको सहकार्यले धेरै महत्व राख्ने पाष्टर इसुजंग कार्कीले बताउनु भयो । बालविवाह लगायतका कुरीतिजन्य परम्परागत हानीकारक अभ्यास अन्त्यका लागि आफूहरू एकजुट भएर लाग्ने प्रतिवद्धता स्लामिक संघका महासचिव अबदुल कलामले व्यक्त गर्नुभयो । कुनै पनि धर्मशास्त्रका मुख्य ग्रन्थले बालविवाह लगायतका परम्परागत हानीकारक अभ्यासलाई प्रोत्साहन नदिने भन्दै धर्मगुरुले धर्मशास्त्रको सही व्याख्या गराउनका लागि सबै एक भएर लाग्नुपर्ने बताएका हुन् । बौद्ध धर्मका गुरु भिक्षु नरहाङ् तामांङ्ले बुद्ध धर्मले शान्ति, सद्भावलाई नै मुल मन्त्र बनाएकाले धार्मिक सद्भावका लागि महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

राष्ट्रिय योजना आयोगका सह सचिव डा. किरण रुपाखेतीले योजना, नीति तथा कार्यक्रम बनाउदा धर्मगुरुहरुलाई पनि प्रमुख सरोकारवलाको रुपमा सहभागि बनाएर गर्नुपर्ने बताउनु भयो । आयोगले बनाउने आगामि योजनाहरुमा यो बिषयलाई समावेश गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो । सामुदायिक सूचना नेटवर्क (सीआइएन)ले बालविवाह, जातीय भेदभाव, दाइजो, छाउपडी लगायतका परम्परागत हानीकारक अभ्यासहरुका बिरुद्धमा सञ्चार अभियान चलाइरहेको सीआईएनका प्रमुख दीपक आचार्यले जनाकारी दिनु भयो । अधिबक्ता एवं युनिभर्सल टाइम्सका सम्पादक विश्णु कुमार गिरीले वडा तहसम्म अन्तरधार्मिक परिषदको समितिहरु गठन गर्न सकेमा प्रभावकारी काम गर्न सक्ने बताउनु भयो ।