२०८१ आश्विन ५ , शनिवार

छोराको स्मृतिमा उत्कृष्ट प्रहरी पुरस्कार अक्षयकोष स्थापना

सुनाखरी न्युज/  मोरङ । बिराटनगर महानगरपालिका वडा नम्वर ३ निवासी अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक बद्री बिक्रम थापा (गोदार) र उहाँकी धर्मपत्नी बिमला थापा तथा छोरी बेनिजा थापाद्वारा बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट प्रहरी पुरस्कारका लागि ५ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ ।

 

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा आज दाता परिवारले उक्त कोषको रकम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीलाई हस्तान्तरण गर्नुभएको छ ।सवारी दुर्घटनामा परी दिवंगत भएका आफ्नो छोरा स्व. बिप्लव थापा (गोदार) को स्मृतिमा परिवारजनले “बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ प्रहरी पुरस्कार” का लागि उक्त अक्षय कोषको स्थापना गर्नुभएको हो । प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले ५ लाख रुपैयाँको अक्षकोष स्थापना गरी २०७९ सालको असोज मसान्तमा मनाउने ६७ औं प्रहरी दिवसबाट “ बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ प्रहरी पुरस्कार”को सुरुवात गरिने गरी सम्झौता भएको कोषका संस्थापकले जानकारी दिनुभयो ।

 

उक्त पुरस्कार १ नम्बर प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्यूनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने प्रहरी जवानदेखि वरिष्ठ प्रहरी नायव निरीक्षक दर्जासम्मका १ जना प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष नगद २५ हजार रुपैयाँ तथा प्रशंसा-पत्र द्वारा सम्मान प्रदान गरिने १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।