२०८१ आश्विन ५ , शनिवार

शब्दयात्रा प्रकाशनद्वारा काभ्रेका दुई सक्रिय पत्रकारलाई कदरपत्र प्रदान

सुनाखरी न्युज/ काठमाडौं । शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका सक्रिय दुई जना पत्रकारलाई २०७८ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गरेको छ । कदरपत्र पाउने पत्रकारहरू राजकुमार पराजुली र ज्ञानमणि नेपाल कालोटोपी छन् । उनीहरूलाई आज शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा कदरपत्र प्रदान गरिएको थियो ।

 

शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य हरि गोपाल प्रधानको सौजन्यबाट प्रदान गरिने कदरपत्र हरेक वर्ष काभ्रे जिल्लाका दुई जना सक्रिय पत्रकारलाई प्रदान गर्ने गरिएको छ । २०६८ सालदेखि यो सम्मान दिइन थालिएको हो । आगामी वर्षमा फोटो पत्रकारीता पुरस्कारको पनि स्थापना गरिने छ । यस वर्ष सम्मानित हुने मध्ये पत्रकार कालोटोपी विगत १८ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । मण्डनदेउपूर नगरपालिका १० का स्थायी वासिन्दा उनले लामो समय नेपाल समाचारपत्र दैनिकमा आबद्ध भएर पत्रकारिता गरेका थिए । हाल केन्द्रबिन्दु मिडियामा वरिष्ठ उपसम्पादक भएर काम गरिरहेका छन् । उनी काभ्रेको मध्यमार्ग साप्ताहिकका विशेष सम्वाददाता पनि हुन् । यस्तै पत्रकार पराजुली पनि विगत २ दशकदेखि पत्रकारितामा सक्रिय छन् । पाँचखाल नगरपालिकाका उनले यसअघि ’द हिमालय टाइम्स’ र अन्नपूर्ण पोष्ट दैनिकमा आबद्ध भएर काम गरेका थिए । हाल उनी जिल्लाबाट राससमा कार्यरत छन् ।

 

कार्यक्रममा १० वर्षको उमेरमा करेन्ट लागेर एउटा हात गुमाएका विद्यार्थी सुजन कामीलाई रूपमति विकलाङ्ग छात्रवृत्ती प्रदान गरिएको थियो । उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले संस्थाका गतिविधिहरूको जानकारी गराएका थिए । शब्दयात्रा प्रकाशनले हालसम्म १७० वटा पुस्तकहरू प्रकाशन गरेको छ । संस्थाले हरेक वर्ष १८ विधामा सम्मान, ६ विधामा पुरस्कार र ३ विधामा छात्रवृत्ती प्रदान गर्दै आएको छ । ६ वटा जिल्लामा सम्पर्क कार्यालय रहेको यस संस्थाले आगामी वर्षदेखि ३ जना पत्रकारलाई सम्मान गर्ने जनाएको छ । संस्थापक अध्यक्ष मञ्जुश्रीले शब्दयात्रा प्रकाशनलाई यहाँसम्म ल्याउन सबैको सहयोग महत्वपूर्ण रहेकाले समुदायले चाहने हो भने कुनै पनि काम गर्न कठिन नहुने विचार व्यक्त गरे ।

आजको कार्यक्रममा कदरपत्र प्रदान गर्ने क्रममा कार्यक्रमका सभापति शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले रुद्राक्षको माला, कदरपत्रका व्यवस्थापक हरि गोपाल प्रधानले उपहार र प्रमुख अतिथि शिक्षासेवी रामप्रसाद अधिकारीले कदरपत्र प्रदान गरेका थिए । कार्यक्रममा अतिथि गीतिभास्कर मच्छेश्वर सापकोटा, डा. रुपनारायण श्रेष्ठ, प्रह्लाद प्याकुरेल, प्रदीप के.सी., रामकृष्ण तिमल्सिना, निर्मला श्रेष्ठ, लोकेन्द्र ढकाल, लगायत सबैले आफ्नो मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा राजकुमार पराजुलीका विषयमा रामकृष्ण तिमल्सिनाले र ज्ञानमणि नेपाल कालोटोपीका विषयमा प्रदीप केसीले जानकारी गराएका थिए । शिक्षासेवी माधवप्रसाद आचार्यले उदघाटन गरेको उक्त कार्यक्रमको सञ्चालन ‘शब्दसञ्चार’ साप्ताहिक रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले गरेका थिए ।

कदरपत्र प्राप्त गर्ने दुवै पत्रकारले यस सम्मानले अबका दिनमा थप दायित्वबोध भएको भन्दै संस्थाप्रति धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा कदरपत्रको वाचन आजीवन सदस्य पुण्यवती घले र काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले तथा स्वागत मन्तव्य सञ्चालक सदस्य केदारनाथ तिमल्सिनाले राखेका थिए । कार्यक्रमको समीक्षासहित समापन गीतिभास्कर मच्छेश्वर सापकोटाले गरेका थिए । कार्यक्रमको लागि विशेष सहयोग गर्ने यस प्रकाशनका संचालक कृष्णमणि कुंइकेल, संगीता के.सी र फोटो पत्रकार पद्यसागर कक्षपतिले गरेका थिए ।