२०८१ कार्तिक ३० , शुक्रवार

इन्स्टाग्राममा थपियो प्राइभेट लाइक पठाउन मिल्ने फिचर

सुनाखरी न्युज/ काठमाडौं ।

इन्स्टाग्राममा नयाँ फिचर थपिएको छ। सामाजिक सञ्जालमध्ये लोकप्रिय फोटो तथा भिडिओ सेयरिङ प्लेटफर्म इन्स्टाग्रामले प्रयोगकर्तालाई स्टोरीमा ‘लाइक’ पठाउन सहज बनाउने फिचर थपेको हो।

 

हुन त कम्पनीले गत साता नै स्टोरीमा सिधैं लाइक गर्न मिल्ने फिचर सार्वजनिक गरेको घोषणा गरेको थियो। तर नेपालमा भने केही दिन अघिदेखि मात्रै यो फिचर उपलब्ध छ। यो नयाँ फिचरसँगै अब तपाईंले अन्य इन्स्टाग्राम प्रयोगकर्ताको स्टोरी आफूलाई मन परे ‘सेन्ड मेसेज’मा गएर प्रतिक्रिया जनाई राख्नु पर्दैन। आफूलाई कुनै व्यक्तिको स्टोरी मन परे उक्त स्टोरीको सबैभन्दा तल दायाँपट्टी देखिने ‘हर्ट’ आइकनमा थिचे पुग्छ।

 

सुरूमा पारदर्शी देखिने यो हर्ट आइकन थिच्‍नु भएपछि रातो हुन्छ। यो भनेको तपाईंले ती प्रयोगकर्ताको स्टोरीमा लाइक गर्नु भएको भन्ने बुझिन्छ। झुकिएर हर्ट आइकन थिचिहाल्नु भएपनि तपाईंले यसलाई ‘अन-डू’ गर्न सक्नुहुन्छ। यसभन्दा अघि भएको फिचरको मद्दतमा स्टोरीमा रियाक्ट गर्न मिल्थ्यो।

 

जुन रियाक्सन प्रयोगकर्ताको मेसेज बक्समा जान्थ्यो। अब भने तपाईंले लाइक गर्नु भएको स्टोरी अन्य प्रयोगकर्ताको मेसेज बक्समा देखाउँदैन। र, तपाईंको स्टोरीमा कसैले लाइक गर्छ भने पनि त्यो मेसेज बक्समा आउँदैन। तर क-कसले स्टोरी लाइक गर्‍यो भन्ने तपाईंले थाहा पाउन सक्नुहुन्छ। एजेन्सी