२०८१ आश्विन ५ , शनिवार

आजदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्ने

सुनाखरी न्युज/ काठमाडौँ । फागुन १ गतेदेखि उठ्न नसकेको फोहोर बिहीबारदेखि उठाउन थालिने काठमाडौं महानगरको वातावरण विभागकी प्रशासनिक प्रमुख सरिता राईले जानकारी दिइन्। उनका अनुसार बुधबार आन्दोलनरत पक्षका माग सम्बोधन गर्न सहमति भएको हो।

 

हाल फोहोर बिसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर फागुन १ गतेदेखि उठ्न सकेको थिएन। बुधबार बाटो निर्माणको काम गरिरहेको ठेकेदार कम्पनी र आन्दोलनरत स्थानीयबीच सहमति भएपछि फोहोर उठाउन बाटो खुल्ने भएको हो। ठेकेदार कम्पनीले बाटो समयमै मर्मत गर्ने लिखित प्रतिबद्धता जनाएको राईले बताइन।

 

बुधबार ११औँ दिनमा सहमति भएको छ। आन्दोलनरत पक्षका माग सम्बोधन गर्न ठेकेदार कम्पनी सहमत भएको छ। बिहीबारबाट फोहोर पठाइदिने सहमति भएको छ,’ राईले भनिन्, ‘बिहीबारदेखि उठाउन थाल्छौँ।’ ११ दिनदेखि थुप्रिएको फोहोर एकैचोटि भने उठ्ने छैन। उनका अनुसार बिहीबारदेखि यसअघि नै लोड गरेर राखिएका फोहोरका गाडी पठाइनेछ। ती गाडी सँगसँगै केही ठाउँको फोहोर बिहीबारदेखि नै उठान थालिनेछ।११ दिनदेखि फोहोर बिसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहोर थुप्रिएको छ। शहरका चोक र गल्लीमा दुर्गन्ध फैलिएको छ।

काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ।