२०८१ कार्तिक ३० , शुक्रवार

व्याख्यात्मक घोषणामा अमेरिका पनि सहमत छः कांग्रेस प्रवक्ता

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको एमसीसी सम्झौताको व्याख्यात्मक घोषणामा अमेरिका सहमत भएको बताउनुभएको छ ।

 

सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. महतले व्याख्यात्मक घोषणासहितको एमसीसी कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । ‘व्याख्यात्मक घोषणा कागजको खोस्टो मात्रै हैन। यसमा अमेरिका पनि सहमत छ,’ उहाँको भनाइ थियो, ‘अब सरकारको ध्यान यसको कार्यान्वयनमा हुनुपर्दछ।’

 

एमसीसी अनुमोदन भएपछि धेरै भ्रमहरुको निवारण भएको महतको भनाइ थियो । डा. महतले एमसीसी सम्झौता अनुमोदनका लागि प्रमुख प्रतिपक्षी दल एमालेको पनि स्विकृति रहेको दाबी गर्नुभयो । एमाले राजनीतिक कारणले मात्रै सहभागी नभएको उहाँको भनाइ छ ।