२०८१ मंसिर ८ , शनिवार

नेपालमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा के गर्न पाइन्छ, के पाइँदैन?

सुनाखरी न्युज/ काठमाडौं।

सरकारले रात्रिकालीन व्यवसाय सञ्चालनमा लगाएको समयसीमा हटाउने निर्णय गरेसँगै नेपालमा चौबिसै घण्टा व्यवसाय सञ्चालन गर्न पाउने बाटो खुलेको छ।

 

गृह मन्त्रालयले तयार पारेको मापदण्ड स्वीकृत भएसँगै होटेल लगायतका मनोरञ्जनात्मक व्यवसायहरू रातको समयमा निर्बाध रूपमा सञ्चालन गर्ने बाटो खुलेको हो। व्यवसायीहरूले लामो समयदेखि गर्दै आएको निर्बाध व्यवसाय सञ्चालनको माग अनि अर्थतन्त्र चलायमान बनाउने रणनीति स्वरूप पूरा हुने गरी व्यवस्था गरिएको अधिकारीहरूले बताउँछन्। तर यो व्यवस्थाले व्यवस्थापन र शान्ति सुरक्षा लगायतका विषयबारे चुनौती थप्ने कतिपय जानकारहरूले बताएका छन्।

 

गृह मन्त्रालयले बुधवार नयाँ मापदण्ड कार्यान्वयनमा ल्याउनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनलाई पत्राचार गरिसकेको छ। मन्त्रालयको प्रवक्ता एवम् शान्ति सुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलका अनुसार नयाँ प्रावधान अनुरूप रातको समयमा सञ्चालन गर्ने क्षमता भएका व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर व्यवसाय सञ्चालन गर्न पाउनेछन्। ”त्यसका लागि जनस्वास्थ्य सम्बन्धी मापदण्ड, कामदारहरूको व्यवस्थापन र सुरक्षा लगायतका विविध पाटो हेरिने छ,” मापदण्ड बनाउने कार्यदलको नेतृत्व समेत गरेका पोखरेलले भने।

 

नयाँ व्यवस्था अनुसार के गर्न पाइन्छ, के पाइँदैन?
गृह मन्त्रालयले देशैभरका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयलाई गरेको पत्राचारका केही मुख्य बुँदा यस्ता छन्:

पेसाकर्मीको सुरक्षा र व्यवस्थापन गर्ने जिम्मेवारी व्यवसायीले लिनुपर्न;

कामदारलाई पद अनुसारको पोसाक, रातीको खाना र घरसम्म पुग्ने यातायातको सुविधाहरू उपलब्ध गराउनुपर्ने;

ग्राहकले घरसम्म पुर्‍याइदिन अनुरोध गरे व्यवसायीले स-शुल्क सेवा उपलब्ध गराउनुपर्ने;

डान्सबार तथा नृत्य मनोरञ्जन हुने स्थानमा अश्लीलता प्रदर्शन नहुने गरी नृत्य गर्न सकिने;

नगद भुक्तानीभन्दा विद्युतीय प्रणाली वा कार्डद्वारा गरिने भुक्तानीलाई प्राथमिकता दिने।

 

के गर्न पाइँदैन?
१८ वर्ष उमेर नपुगेका ग्राहकहरूलाई सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने;

व्यवसायीहरूले निर्धारित मूल्य सूची विपरीत अनावश्यक रूपमा विलिङ्ग गरी ग्राहकलाई गैरकानुनी रूपमा दुख दिन नपाइने;

डान्स रेस्टुरेन्ट, बार, लाइभ ब्यान्ड, लाउन्ज बार, पब, क्लब र डिस्कोथेक जस्ता व्यवसायमा १८ वर्ष मुनिका बालबालिकालाई ग्राहकका रूपमा प्रवेश दिन नपाइने।

सुरक्षाबारे चिन्ता
निर्बाध व्यवसाय सञ्चालनको व्यवस्था गर्दै गर्दा जानकारहरूले भने शान्ति सुरक्षा अनि अवाञ्छनीय गतिविधिको सम्भावना रहने भन्दै चिन्ता व्यक्त गरेका छन्। नेपालमा होटेल र रेस्टुरेन्ट लगायतका व्यवसाय आवासीय क्षेत्र बीचमा समेत रहेको अवस्थामा पछिल्लो व्यवस्थाले सर्वसाधारणहरूको जीवनयापनमा वाधा पुर्‍याउने मात्र नभएर अन्य सामाजिक समस्याहरूको समेत चुनौती थप्न सक्ने चिन्ता कतिपयमा पारेको छ। तर पोखरेल भने ती सबै कुराहरू सुनिश्चित हुने गरी व्यवस्थापन गरिएको बताउँछन्।

 

मन्त्रालयले गरेको पत्राचारमा रातैभर व्यवसाय सञ्चालन गर्ने व्यवसायीले सुरक्षाका लागि सीसीटीभीबाट निगरानी गर्ने र कम्तीमा ३० दिनको रेकर्ड राख्ने व्यवस्था गर्नुपर्ने उल्लेख छ। ध्वनि प्रदूषणका हकमा ”व्यवसायीले अनिवार्य रूपमा साउन्ड कन्ट्रोल सिस्टम जडान गरी ध्वनि प्रदूषण हुन नदिने व्यवस्था गर्नुपर्ने” भनी लेखिएको छ। त्यस्तै व्यवसायको परिसरभित्र अनि आगमन र प्रस्थान हुँदाको नजिकको क्षेत्रसम्म बत्तीको व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख छ।

 

देशका विभिन्न क्षेत्रका पर्यटन व्यवसायीहरूसँग सहकार्य गरेर मापदण्ड तयार पारिएको हुँदा यसको कार्यान्वयनमा धेरै समस्या नहुने सरकारी विश्वास छ। BBC