२०८१ आश्विन ६ , आइतवार

प्रतिनिधिसभामा लेखा समितिको प्रतिवेदन पेश : अर्को बैठक चैत २ गते बस्ने

सुनाखरी न्युज/ काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले “सार्वजनिक लेखा समितिको एक्काइसौंँ वार्षिक प्रतिवेदन, २०७८” पेश गर्नुभएको छ ।

 

बैठकको प्रारम्भमै नेकपा (एमाले)का सांसदहरुले नाराबाजी गर्दै ‘वेल’ घेराउ गर्नुभएको थियो । नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसद डा भीमबहादुर रावललाई बोल्ने समय दिनुभएको थियो ।

 

सांसद रावलले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौताका केही असन्तुष्टी सम्बोधन हुनुपर्ने धारणा व्यक्त गर्दै अनुमोदनपछि एमसिसी कार्यान्वयनको अवस्थाबारे जनताले जानकारी पाउनुपर्ने बताउनुभयो । साथै उहाँले भारतीय पक्षबाट नेपालको पश्चिम सीमानामा एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहेको उल्लेख गर्दै त्यसबारेमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सांसद रावलले कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन फिर्ता ल्याउन सरकारले गरेका प्रयास बारेमा पनि जानकारी माग गर्नुभएको थियो

 

बैठकमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको सिमानामा भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरिहेको सम्बन्धमा नेपाल सरकार किन बोल्दैन भनी प्रश्न गर्नुभयो । साथै उहाँले सिमाना विवाद समाधानका बारेमा के पहल भइरहेको छ भनी सभामुखमार्फत सरकारसँग जानकारीको माग गर्नुभयो । प्रतिनिधिसभाको अर्काे बैठक आगामी चैत २ गते १ बजे बस्नेछ ।रासस