सुनाखरी न्युज/ काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवि सिंह निर्वाचित भएका छन् । सिंहले ७६५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी निकोलस पाण्डेले ३३७ मत प्राप्त गरे । त्यस्तै अध्यक्षकै अर्का उम्मेदवार हुमनाथ कोइरालाले भने जम्मा ३२ मत मात्र ल्याएका छन् ।
सिंह यसअघिका अध्यक्ष र पाण्डे वरिष्ठ उपाध्यक्ष हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा (एडी) विजयी भएका छन् । शुक्रबार सुरु महासंघको २३औं साधारणसभा तथा १२ औं अधिवेशनबाट उपाध्यक्षहरूमा प्रदेश १ बाट मोहनप्रसाद अधिकारी, मधेस प्रदेशबाट शम्भु ठाकुर, वाग्मती प्रदेशबाट बालकृष्ण थापा, लुम्बीनीबाट टोपबहादुर रायमाझी, कर्णालीबाट रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट प्रकाश सेठी निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा रोशन दाहाल, उपमहासचिव नितिगततर्फ शिवहरी घिमिरे, उपमहासचिव आन्तरिकतर्फ नरहरी थपलिया,कोषाध्यक्ष हिरान श्रेष्ठ र सहकोषाध्यक्षमा सन्तोष शाह विजयी भएका छन् । महासंघको पूर्ण समितिमा ५९ सदस्य हुने भए पनि हाल ४६ सदस्यका लागि मात्र निर्वाचन भएको हो । अन्य सदस्यहरू मनोनित र पदेन हुने निर्वाचन समितिले जनाएको छ ।
कुल मतदाता संख्या ११९८ रहेपनि मत भने ११८१ खसेको थियो । २०५४ सालमा स्थापना भएको महासंघले सबै जिल्लामा संघहरू, सातै प्रदेशमा क्षेत्रीय संघ, केन्द्रिय स्तरमा २८३ एसोसिएट सदस्यहरू र एक वस्तुगत संघको छाता संस्थाका रूपमा काम गर्दै आएको छ । देशभरका निर्माण व्यवसायीलाई क, ख, ग र घ वर्गमा विभाजन गरिएको छ । जसअनुसार निर्माण व्यवसायीको कुल संख्या १५ हजार ४६ रहेको महासंघले जनाएको छ ।