२०८१ आश्विन १३ , आइतवार

वडा सचिवसहित २४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

सुनाखरी न्युज/ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धाग आयोगले विभिन्न २४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले गोरखाको अजिरकोट गाउँपालिकाको वडा नं. ३ र ५ मा कार्यरत सचिव दिपक बहादुर दर्जीसहित २४ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

 

गोरखाको अजिरकोट गाउँपालिका वडा नं. ३ हंशपुर र वडा नं. ५ मुच्चोकका वडा सचिव दिपक बहादुर दर्जीसमेतले वडाको रकम अनियमितता गरेको भन्ने उजुरी परेको थियो । आर्थिक वर्ष २०७३/०७४ मा वडा सचिव दिपक बहादुर दर्जी, सुरेश दवाडी, तत्कालीन कार्यालय सहयोगी बिशाल बिक, चन्द्रकान्त सुबेदीसमेतले सामाजिक सुरक्षा भत्ता बितरण गर्नको लागि रकम चेकमार्फत लिएको तर बितरण नगरेको आयोगको भनाई छ । पेश्की फर्छ्यौट तथा लेखापरीक्षणसमेत नगरी ६० लाख ९७ हजार ६ सय रकम हिनामिना गरेको आयोगले जनाएको छ ।

जनस्वास्थ्य अधिकृत सुरेश दवाडी र दिपक बहादुर दर्जीको संयुक्त हस्ताक्षरमा निकालेको अजिरकोट गाउँपालिका वडा नं. ३ को सामाजिक सुरक्षा भत्तावापतको २७ लाख २३ हजार २ सय र ३३ लाख ७४ हजार ४ सयको भरपाई पेश गरी फर्छ्यौट पनि नगरेको भन्दै आयोगले आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको छ ।

 

त्यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १६ स्थित हिमाली प्रावि तनहुँको तत्कालीन विद्यालय व्यवस्थापन समितिले निर्णय गरी विभिन्न व्यक्तिहरुलाई घरसारको कागज बनाई सार्वजनिक जग्गा गैरकानूनीरुपमा विक्री वितरण गरेको भन्ने उजुरी परेको थियो । उनले सार्वजनिक जग्गालाई घरसारको कागजातहरु बनाई आफैले घडेरी नम्बर कायम गरी गैरकानूनीरुपमा भोगचलन गर्ने गराउने गरेको पाईएको आयोगको भनाई छ ।

 

आयोगका अनुसार विक्री भएका जग्गा घडेरीमा पक्की घरसमेत संरचना बनाएको पाईएकोले याम बहादुर बानिया, सदस्य सचिव (प्रधानाध्यापक) याम बहादुर ठकुरी, सदस्यहरु घनश्याम बानिया, हरि कुमारी महत, धुन बहादुर पुलामी, ज्ञान बहादुर बानिया र खडक बहादुर बानियाले एक लाख ६९ हजार ५१ रुपैयाँ लिई सरकारी जग्गा भोगचलन गर्ने गराउने कसुर गरेको पुष्टि भएको छ ।

 

हिमाली प्रावि तनहुँको विद्यालय व्यवस्थापन समितिको वैठकको निर्णय अनुसार सरकारी सार्वजनिक जग्गालाई घरसारको कागजातहरु बनाई आफैले घडेरी नम्बर कायम गरी सन्त बहादुर सिजालीमगर, तिलुदेवी वराल, डोलराज आचार्य, डिल बहादुर आले, विष्णुमाया थापा, विष्णु प्रसाद लम्साल, शरण बहादुर विक, बलराम वानिया, बुद्दिमाया विक., बाबुराम बानिया, लोक बहादुर माकिम, पूर्ण बहादुर विक र धन बहादुर विकले विद्यालय व्यवस्थापन समितिलाईएक लाख ६९ हजार ५१ रुपैयाँ दिई सरकारी सार्वजनिक जग्गालाई भोग चलनसमेत गरेको देखिएको आयोगले जनाएको छ ।

 

जिल्ला गोरखा, साविक हंशपुर र मुच्चोक गा.बि.स. हालको अजिरकोट गाउँपालिकाको वडाको ३ र ५ मा कार्यरत तत्कालीन गा.बि.स. सचिव एवं वडा सचिव दिपक बहादुर दर्जीसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।

 

प्रेस विज्ञप्ति

जिल्ला गोरखा, अजिरकोट गाउँपालिका वडा नं. ३ हंशपुर र वडा नं. ५ मुच्चोकका वडा सचिव दिपक बहादुर दर्जीसमेतले वडाको रकम अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.ब. २०७३/०७४ मा साविक हंशपुर र मुच्चोक गा.बि.स. हालको अजिरकोट गाउँपालिकाको वडाको ३ र ५ मा कार्यरत तत्कालीन गा.बि.स. सचिव एवं वडा सचिव दिपक बहादुर दर्जी, साविक हंशपुर गा.बि.स.को हे.अ. सुरेश दवाडी, तत्कालीन कार्यालय सहयोगी बिशाल बि.क. र साविक मुच्चोकको गा.बि.स.को अ.हे.ब. चन्द्रकान्त सुबेदीसमेतले आर्थिक कारोबारको हिसाब-किताब नबुझाई जिल्ला विकास समितिको कार्यालयबाट निकासा भएको तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्नको लागि रकम चेकमार्फत लिएको तर बितरण गरेको नपाइएको एवं वडा सचिव दिपक बहादुर दर्जीले हे.अ. सुरेश दबाडीसँग संयुक्त रुपमा खाता सञ्चालन गरेको तथा दिपक बहादुर दर्जीले अ.हे.ब. चन्द्रकान्त सुबेदीसँग समेत संयुक्त रुपमा खाता सञ्चालन गरी सामाजिक सुरक्षा भत्ताको रकम निकाली पेश्की फर्छ्यौट तथा लेखापरीक्षणसमेत नगरी रु.६०,९७,६००।- रकम हिनामिना गरेको, साविक हंशपुर गा.बि.स.को तत्कालीन हे.अ. हाल जनस्वास्थ्य अधिकृत सुरेश दवाडी र दिपक बहादुर दर्जीको संयुक्त हस्ताक्षरमा निकालेको अजिरकोट गाउँपालिका वडा नं. ३ को सामाजिक सुरक्षा भत्तावापतको रु.२७,२३,२००।- र साविक मुच्चोक गा.बि.स.को तत्कालीन अ.हे.ब. चन्द्रकान्त सुबेदी र दिपक बहादुर दर्जीको संयुक्त हस्ताक्षरमा निकालेको अजिरकोट गाउँपालिका वडा नं. ५ को सामाजिक सुरक्षा भत्तावापतको रु.३३,७४,४००।- को भरपाई पेश गरी फर्छ्यौट पनि नगरेको र रकमसमेत निकाली मासी सरकारी रकम हिनामिना गरेको हुँदा प्रतिवादी दिपक बहादुर दर्जीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निजलाई रु.६०,९७,६००।-(साठ्ठी लाख सन्तानब्बे हजार छ सय रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

 

साथै, आरोपितहरुमध्ये प्रतिवादी दिपक बहादुर दर्जी र सुरेश दवाडीको संयुक्त चेकबाट रकम निकाली प्रतिवादी विशाल वि.क.को खातामा जम्मा गरी रु.२७,२३,२००।- हिनामिना गरेको पाईएको हुँदा प्रतिवादी सुरेश दवाडी र विशाल वि.क.को हकमा जनही रु.२७,२३,२००।- (सत्ताइस लाख तेइस हजार दुईसय रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र प्रतिवादी दिपक बहादुर दर्जीसँग संयुक्त हस्ताक्षर गर्ने आरोपित चन्द्रकान्त सुबेदीको हकमा रु.३३,७४,४००।- (तेत्तिस लाख चौंहत्तर हजार चारसय रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (१७) ले निर्देश गरेबमोजिम ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र ऐ. ऐनको दफा १७ बमोजिम प्रतिवादीहरु दिपक बहादुर दर्जी, सुरेश दवाडी, चन्द्रकान्त सुवेदी र विशाल वि.क.समेतले हानिनोक्सानी गरेको बिगो निजहरुबाट असुलउपर हुनसमेत मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

    प्रवक्ता
श्याम प्रसाद भण्डारी