२०८१ मंसिर ७ , शुक्रवार

सरकारी खर्च निराशाजनक, ८ महिनामा विकास बजेट खर्च ७७ अर्ब मात्र

सुनाखरी न्युज/ काठमाडौं –

चालु आर्थिक वर्ष २०७८/७९ को ८ महिनामा (साउन–फागुन) पूँजीगत खर्च २० प्रतिशत मात्रै भएको छ । फागुन मसान्तसम्म पूँजीगत खर्च मात्र ७७ अर्ब १४ करोड रुपैयाँ भएको छ ।

 

यो कुल लक्ष्यको २०.४ प्रतिशत मात्र हो । चालु आर्थिक वर्षमा सरकारले ३ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो ।विनियोजन भएको खर्चले गति लिन नसकेपछि अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षामार्फत पूँजीगत खर्चको लक्ष्य संशोधन गरी ३ खर्ब ४० अर्ब ३२ करोड रुपैयाँ तोकिएको छ । यस अनुसार नयाँ लक्ष्य पूरा गर्न समेत चालु आवमा बाँकी रहेको चार महिनाको अवधिमा मासिक ६५ अर्ब ७५ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

 

अर्थमन्त्री जनार्दन शर्माले कार्यकाल सम्हालेलगत्तै प्रतिबद्धता व्यक्त गरेको प्रत्येक महिना १० प्रतिशत पूँजीगत खर्च गर्ने घोषणा असफल भएको छ । अहिले उनी आर्थिक वर्षको अन्त्यसम्म कम्तीमा ९० प्रतिशतसम्म पूँजीगत खर्च प्रगति पुर्‍याउन विकासे मन्त्रालयहरुलाई दबाब दिइरहेका छन् ।

माघको तुलनामा फागुनमा खर्चले लियो गति

अर्थ मन्त्रालयको तथ्यांक अनुसार माघ महिनापछि भने पूँजीगत खर्चले केही रफ्तार लिएको छ । २४ फागुनसम्मको तथ्यांक अनुसार २०७८ माघ मसान्तको तुलनामा ३ प्रतिशत हाराहारी खर्च बढी भएको छ । ४ फागुनसम्म लक्ष्यको १९.१५ प्रतिशत पूँजीगत खर्च भएको छ । तथ्यांक अनुसार माघ मसान्तसम्म पूँजीगत खर्च मात्र १६.०८ प्रतिशत रहेको थियो । फागुन मसान्तसम्म पूँजीगत खर्च २०.४ प्रतिशत पुगेको हो ।

विकास खर्चमा विकासे मन्त्रालय नै कमजोर

पूँजीगत बजेटको ठूलो हिस्सा ओगटेका मन्त्रालयहरुले नै यस वर्ष कमजोर प्रदर्शन गर्दा त्यसको असर समग्र विकास खर्चमा परेको छ । अर्थ मन्त्रालयको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ को फागुन २४ को तुलनामा चालु आवको २४ फागुनसम्म समग्र पूँजीगत खर्च २१ प्रतिशत बढी भएको छ । तर, विकासे मन्त्रालयहरुको प्रदर्शन भने कमजोर छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको भने खर्च अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५.७३ प्रतिशतले मात्र बढेको छ ।

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको भने खर्च भने ११.८७ प्रतिशतले घटेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पूँजीगत खर्च १६.४४ प्रतिशत कम भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूँजीगत खर्च गत आवको यसै अवधिको तुलनामा २२.८५ प्रतिशत कम छ । सहरी विकासले पनि गत आव भन्दा यो वर्ष २६.८८ प्रतिशत कम पूँजीगत खर्च कम भएको तथ्यांक छ ।

 

चालु आर्थिक वर्षको ८ औं महिनासम्म सरकारको कुल आम्दानी ७ खर्ब ३६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । यसमा राजस्वबाट ६ खर्ब ८४ अर्ब ६९ करोड रुपैयाँ प्राप्ती भएको छ । यो कुल लक्ष्यको ५८ प्रतिशत हो । यस अवधिमा अनुदानबाट १३ अर्ब ८८ करोड रुपैयाँ प्राप्ती भएको छ । अन्य प्राप्ती भने ३८ अर्ब रुपैयाँ रहेको छ ।