२०८१ आश्विन १३ , आइतवार

गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नृत्यको अनुसन्धान जारी

राजाराम पौडेल/पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा गण्डकी प्रदेशका विभिन्न जातीको नृत्यको बारेमा यतिबेला अनुसन्धान भइरहेको छ ।

 

गत माघ १ गतेबाट सुरु भएको अनुसन्धान कार्य चैत्र मसान्त भित्र सक्ने तयारी गरिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा अध्ययन अनुसन्धान उपसमिति संयोजक गोरे गुरुङले जानकारी दिनुभयो । जसका लागि अनुसन्धान कर्ताहरु अहिले गण्डकी प्रदेशका विभिन्न जिल्लामा पुग्नुभएको छ । अध्ययन अनुसन्धान उपसमिति संयोजक गुरुङले अनुसन्धानकर्ताले आगामी चैत्र ३० गते भित्रमा अनुसन्धान प्रतिवेदन सहितको सामाग्री बुझाउनुपर्ने गरेर समय निर्धारण गरिएको बताउनुभयो ।

 

अनुसन्धानकर्ता मार्फत अक्षर र भिडियो समेतका जानकारीहरु संकलन गरिरहेको गुरुङको भनाई छ । ‘अनुसन्धानकर्ता मार्फत अक्षर र भिडियो समेतको जानकारी संकलन भइरहको छ, भिडियो लाइवेरिमा राखिनेछ’उहाँले भन्नुभयो ।

 

यो वर्ष सबै जातीलाई समेट्न नसकेपनि बाँकी जातीलाई क्रमैसँग अर्कोवर्ष छनोट गर्दै अनुसन्धान गरिने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताउनुभयो । अनुसन्धान आफैमा ऐतिहासिक पाटो भएको तथा प्रतिष्ठान स्थापनाको छोटों समयमा थोरै बजेटमा यो वर्ष कम्तीमा ३० वटा लोपउन्मुख नृत्यको अनुसन्धान र छायांनकान गर्न लागिएको उहाँले खुलाउनुभयो । यसरी छायाकंन गर्ने नृत्यहरू २३ मिनेट देखी २ घण्टा ५८ मिनेट सम्मका हुने भनाई उहाँको छ ।

 

लोपोन्मुख नृत्यको संरक्षण गर्दै नयाँ पिंडीलाई यस्ता नृत्यबारे जानकारी दिनको लागि यो कार्य गरिएको सदस्य सचिव श्रेष्ठले बताउनुभयो । ‘अब हामी श्रब्य दृश्य कक्ष तयार गर्ने छौ जहां हामीले अनुसन्धान बाट प्राप्त गरेका यथार्थ कुराहरू नया पिंडीलाई देखाउने छौ’ उहाँले भन्नुभयो ।

 

यो अनुसन्धान कार्यको लागि १४ जना अनुसन्धानकर्ता छनोट हुनुभएको थियो । तीनैै अनुसन्धानकर्ता मार्फत यतिबेला प्रदेशका विभिन्न जातीका लोक नृत्यको बारेमा अनुसन्धान गरेर त्यस्ता नृत्यको भिडियो छायाकंन गर्ने कार्य भइरहेको हो ।

 

छनोट हुनुभएको अनुसन्धानकर्तामा थकाली जातीको लागि ज्योति भट्टचन, कुमाल जातीको लागि इश्वर कुमाल, छन्त्याल जातीको लागि हरिचन छन्त्याल, माझी जातीको लागि नम्रता केसी, गुरुङ जातीको लागि तेज बहादुर गुरुङ, मगर जातीको लागि मनोज घर्ती मगर, थारु जातीको लागि डा. विष्णु कुमार सिञ्जाली रहनुभएको छ ।

 

यसैगरी दरै जातीको लागि राज कुमार दरै, तामाङ जातीको लागि कुमार तामाङ, दुरा जातीको लागि लाल बहादुर भुजेल, ब्राम्हण तथा क्षेत्री जातीको लागि खगराज शर्मा, नेवार जातीको लागि रमेश लिगल, दमाई जातीको लागि बसन्त खनाल र गन्धर्व जातीको लागि डा.तुलसी राम खनालले अनुसन्धानकर्ताको जिम्मेवारी पाउनुभएको छ । यता मनोज घर्तिमगरद्धारा लिखित मगर इतिहास पुस्तक प्रकाशनको अन्तिम तयारीमा समेत गण्डकी प्रज्ञा प्रतिष्ठान रहेको उपकुलपति गुरुङले जानकारी दिनुभयो ।