२०८१ आश्विन १३ , आइतवार

रूस–युक्रेन युद्धको प्रभाव नेपाली भान्सा सम्म

सुनाखरी न्युज/ काठमाडौं ।
रूसले युक्रेन दुई देशबीच चलिरहेको लडाइँले अन्तर्राष्ट्रिय बजार महँगो बनाइदिएको छ। पेट्रोलियम पदार्थ, सुन लगायत अन्य वस्तुसँगै खाद्यान्न बजारमा पनि यो युद्धको प्रभाव परेको छ। अहिले अन्तर्राष्ट्रिय बजारमा खाने तेलका साथै मकै, गहुँ जस्ता खाद्यान्नको मूल्य बढ्ने क्रम जारी छ।

अन्तर्राष्ट्रिय बजारमा परेको यो असरबाट नेपाल पनि अछुतो छैन। दाल, चामल, तेलदेखि अन्डासम्मको भाउ अहिले बढिरहेको छ। नेपाल खुद्रा व्यापार संघको तथ्यांक अनुसार कोरोना महामारीदेखि नै आकासिएको खाने तेलको मूल्य युद्धले झन् बढ्ने देखिएको छ।

अहिले अन्डाको मूल्य पनि बढेको छ। हाल बजारमा ठूलो आकारको अन्डा प्रतिक्रेट चार सय १० रूपैयाँ र मध्यम आकारको अन्डा तीन सय ६५ देखि ७० रूपैयाँ छ। कोरोना महामारीको सुरूआतमा अन्डाको भाउ घटेर प्रतिक्रेट दुई सय रूपैयाँसम्म पुगेको थियो।

खाद्यान्नको मूल्य अस्वाभाविक रूपमा बढेकाले सरकारले बजार अनुगमन गर्नुपर्ने संघका महासचिव अमुलकाजी तुलाधार बताउँछन्। सरकारले अनुगमन नगरे झनै मूल्य बढ्ने उनी बताउँछन्।

प्रशोधित खाने तेल उत्पादनका लागि आयात हुने सूर्यमुखी र भटमासको कच्चा तेल युक्रेन र रूसबाट आयात हुने नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुबोध कुमार गुप्ताले जानकारी दिए। युद्धले खाद्यान्न आयातमा भने कुनै असर नगर्ने उनको भनाइ छ। आयात निरूत्साहित गर्न शतप्रतिशत मार्जिन राख्नुपर्ने राष्ट्र बैंकको व्यवस्थाले पनि महँगी बढ्ने उनको भनाइ छ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा एक अर्ब ३२ करोड ६३ लाख किलो खाद्यान्न आयात भएको छ। त्यसमध्ये सबभन्दा बढी छिमेकी मुलुक भारतबाट आउँछ। त्यसबाहेक ब्राजिल, अमेरिका, अर्जेन्टिना, बंगलादेश, चीनलगायत मुलुकबाट आयात हुन्छ।

सो अवधिमा चार अर्ब ६४ करोड ५२ लाख मूल्य बराबरको १४ करोड २१ लाख किलो गहुँ आयात भएको छ। १३ अर्ब चार करोड ४३ लाख मूल्य बराबरको ३७ करोड १९ लाख किलो मकै आयात भएको छ।

विभागको तथ्यांकले मकै भारत, ब्राजिल, टर्की, साउथ अफ्रिका, इन्डोनेसिया, क्यानडा, अमेरिका, चीन र अर्जेन्टिनाबाट आयात भएको देखाउँछ। त्यस्तै गहुँ भारत र टर्कीबाट आयात हुने गरेको छ।

यसबाहेक मासुको भाउ पनि बढ्ने देखिएको छ। आयात हुने खाद्यान्न पशु दानामा पनि प्रयोग हुने भएकाले मासुको मूल्य बढ्ने सम्भावना बढेको हो।