२०८१ आश्विन १३ , आइतवार

ग्रीन भेन्चर्सको आइपीओमा पहिलो दिन नै मागभन्दा बढी आवेदन

सुनाखरी न्युज/ काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा पहिलो दिन नै माग भन्दा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलबार साँझ सम्ममा ४ लाख ३२ हजार ४२१ जना आवेदकहरुले ५४ लाख ५८ हजार ९६० कित्ताका लागि आवेदन दिएका छन् ।

 

ग्रीन भन्चर्सले भने मंगलबार चैत ८ गतेबाट सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । कुल ३१ लाख २५ हजार कित्ता सेयरमध्ये ५% अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र ३ अर्थात् ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी भएको हो । यस आइपीओमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।

 

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ग्रीन भेन्चर्सको आइपीओलाई औसत आधार जनाउने ‘कियर एनपी डबल बी’ रेटिङ दिएको छ । केयरले २०७८ पुस २ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको म्याद २०७९ मंसिर १५ गतेसम्म बहाल रहनेछ ।