२०८१ मंसिर ८ , शनिवार

प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८ काठमाण्डौमा सुरु हुँदै

सुनाखरी न्युज/ काठमाडौं। समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफल गर्नका लागि राजधानीमा प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८ आयोजना हुने भएको छ ।

 

राष्ट्रिय आर्थिक सरोकार समाज नेपालको आयोजनामा यहि चैत्र ११ र १२ गते हुन गईरहेको सम्मेलनमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशाका साथै नेपाली अर्थतन्त्रको समसामयिक मुद्धाहरुको बारेमा गहन छलफल हुने संस्थाका अध्यक्ष गंगा बहादुर थापाले बताएका छन् । थापाका अनुसार, चैत्र ११ गते २ बजे देखि ५ बजेसम्म राष्टीय सभागृहमा उद्घाटन समारोहको आयोजना हुने र चैत्र १२ गते विहान ७ ः ३० बजेदेखि पुरा दिन प्राविधिक सत्र हुने छ ।

 

कार्यक्रममा अर्थमन्त्री, पूर्वप्रधानमन्त्री, योजना आयोग, नेपाल राष्ट्र बैंक, उद्योग बाणिज्य महासंघ तथा प्रमुख राजनैतिक दलका प्रतिनिधिहरु तथा विश्वविद्यालयका पदाधिकारीहरुको समेत सहभागिता रहने छ । दशकौं अघिदेखिको न्युन आर्थिक वृद्धि, गरीवी, असमानता, वेरोजगारी, निर्वाहमुखी कृषि, न्युन पुँजीगत खर्च, उच्च मुद्रा स्फिति, उच्च व्यपार घाटा, कमजोर पुर्वाधार तथा औधौगिक आधार, विप्रेषणमुखी अर्थतन्त्र, आयातमुखी राजश्व जस्ता आर्थिक मुद्धाहरुमा बहस गरी समाधान सहित सरकार र प्रमुख राजैनैतिक दलहरुलाई कार्यान्वयन गर्न सुझाव दिनु पनि यस सम्मेलनको प्रमुख उद्धेश्य रहेको छ ।

 

यस सम्मेलनमा अहिलेको अर्थतन्त्रका जल्दो–बल्दो मुद्धाहरुको विषयमा ९ वटा विषयहरुमा पेपर प्रस्तुत हुने जनाइएको छ । प्रस्तुत हुने पेपरहरुमा नेपाली अर्थतन्त्रको परिदृष्य र समसामयिक मुद्धाहरु– डा. जीवन अंगाई, समाजबाद उन्मुख अर्थतन्त्रको कार्यदिशा– हरि रोका, नेपालमा योजना र वजेटः समन्वय, कार्यान्वयन र प्रभावकारिता– डा. मिन बहादुर श्रेष्ठ, कृषिको व्यवसायिकीकरण र औधोगिकीकरणका चुनौतिहरु– डा. गणेश राज जोशी, वित्तीय पहुँच, उत्पादनशील लगानी र वित्तीय स्थायित्व– सिद्धराज भट्ट÷भरतराम ढुंगाना, औद्योगिकीकरणमा नीजिक्षेत्र– डा. उत्तम खनाल, दीगो आर्थिक विकासका लागि प्राकृतिक स्रोतको उपयोग– डा. सुनिल कुमार पोखरेल, सहकारी अभियानको ६५ वर्षको अभियान र हालको अवस्था– डा. ज्ञानेन्द्र पौडेल, नेपाली अर्थतन्त्रमा नवउदारबादको प्रभाव– बैकुन्ठ पाण्डे छन् ।

 

सम्मेलनमा समाजवाद उन्मुख समुन्नत अर्थतन्त्र निर्माणका लागि साझा आर्थिक एजेन्डाको बारेमा गोलमेच छलफल समेत हुनेछ । कार्यक्रममा प्रस्तुत पेपर र छलफलका निश्कर्षलाई प्रोसिडिङको रुपमा प्रकाशन गरी विभिन्न निकायहरुमा सुझावको रुपमा पेश हुनेछ ।