२०८१ आश्विन ५ , शनिवार

उपत्यकामा बढ्यो वायु प्रदूषण

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण झन् बढेको छ । वायुको गुणस्तर अध्ययन तथा विश्लेषण गर्ने स्वीस कम्पनी आईक्यूएयरले सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा उपत्यकाको वायु प्रदूषण मापन सूचक एक्यूआई १६२ पुगेको देखाइएको हो ।

 

एक्यूआई १५० भन्दामाथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ । विषाक्त वायुले स्वास्थ्यमा समस्या ल्याउन सक्ने भन्दै विज्ञहरुले मर्निङवाकमा समेत नजान सुझाव दिएका छन् । उपत्यकामा ८ देखि ९ र दिउँसो ३ बजेसम्मको वायु धेरै प्रदूषित हुने गरेको पाइएको छ । अत्यधिक सवारी चापका कारण यहाँको वायु प्रदूषण विकराल बन्दै गएको पनि रिपोर्टमा जनाइएको छ । त्यसमाथि पछिल्लो समय देशका विभिन्न स्थानमा लागिरहेको डढेलोले पनि वायु प्रदूषण झन बढाएको छ । सोमबारको अनुगमनमा देशका ८४ स्थानमा डढेलो लागिरहेको छ ।

 

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय वायु प्रणाली सक्रिय भएकाले उपत्यकासहित देशका पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । आज दिनभर प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य क्षेत्रमा पनि आंशिक बदली रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।