२०८१ आश्विन १४ , सोमवार

रोटरी क्लब सैबु भैसेपाटीको सहयोगमा डुकुछापमा खानेपानी फिल्टर जडान

सुनाखरी न्युज/ ललितपुर । रोटरी क्लब अफ सैंबु भैसेंपाटीले ललितपुरको डुकुछापमा खानेपानीको फिल्टर जडान गरेको छ । गोदाबरी नगरपालिका वडा नम्बर ८ अधिकारी टोलमा वाटर फिल्टर जडान गरिएको हो ।

 

रोटरी क्लब अफ सैबु भैसेपाटीका अध्यक्ष मिलन थापाको आर्थिक सहयोगमा खानेपानी फिल्टर जडान गरीएको हो । ललितपुर महानगरपालिकासंग सिमाना जोडिएपनि विकट मानिएको सो क्षेत्रमा खानेपानी फिल्टर जडान गरेपछि करिब एक सय घर परिवार लाभान्वित भएका छन् । फिल्टर उद्घाटन कार्यक्रममा पुर्व अध्यक्ष मदन महतले सामाजिक कार्यमा समर्पित रोटरी क्लब सैबु भैसेपाटीले विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको चर्चा गर्नुभयो । उहाले भन्नुभयो–अहिले खानेपानीको अभाव बेहोरिरहेका डुकुछापवासीको पहिलो समस्या समाधान गर्न क्लबले मुख्य भुमिका खेलेको छ ।

 

फिल्टर जडान गर्न रोटरी क्लब अफ सैबु भैसेपाटीका अध्यक्ष थापाको ५ लाख १५ हजार आर्थिक सहयोगमा जडान गरिएको हो । खानेपानीको फिल्टर जडान गर्न स्थानीय सानोभाई अधिकारीले जग्गा उपलब्ध गराउनुभएको थियो । फिल्टर जडान भएपछि मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष थापाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै क्लबको सामाजिक उत्तरदायीत्व बहन गर्ने योजना अनुसार सो परियोजना सञ्चालन गरेको बताउनुभयो । भन्नुभयो–रोटरी क्लब अफ सैबु भैसेपाटीको यो सहयोगले स्थानीय अधिकारी टोलवासीलाई ठुलो राहत मिलेको छ । कार्यक्रममा क्लबका पदाधिकारी पुर्व अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।