२०८१ आश्विन १४ , सोमवार

सवारी दुर्घटनामा ७ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौँ –

काठमाडौं – महानगरपालिका-२७ मांकालस्थित सडकमा बागमती प्रदेश ०३-००१ क ०५५१ नम्बरको ग्याँस बुलेटले बा.६४ प ६३८० नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही महानगरपालिका-१ बस्ने ६४ वर्षीय गुलाम महमदको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ग्याँस बुलेट चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा- पोखरिया नगरपालिका-४ नहर छेउ नजिक सडकमा ना.३ प १०२६ नम्बरको मोटरसाइकल र प्रदेश २-०३-००४ प ७४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ३ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरी- खड्क नगरपालिका-५ रंजितपुरस्थित सडकमा विद्युत कार्यालय बोदेबर्साईनको प्रदेश २-०१-००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई ना.७ ख २६५८ नम्बरको टिपरले बिहीबार दिउँसो ठक्कर दिँदा बोलेरोमा सवार विद्युत कार्यालयको कर्मचारी हाल वतन नखुलेका शिवराज यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ५ जनाको युनिभर्सल अस्पताल कल्याणपुरमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ- विराटनगर महानगरपालिका-१४ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-९ बस्ने ४२ वर्षीय पुष्पराज देउजाको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

रूपन्देही- सिद्धार्थनगर नगरपालिका-९ मिश्रवलीयास्थित सडकमा लु.१ च ६७९८ नम्बरको भ्यान आफै अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक ओमसतिया गाउँपालिका-२ बस्ने ४५ वर्षीय रामशरण भुजको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

प्युठान- नौबहिनी गाउँपालिका-४ खवाङ कुलेलीस्थित सडकमा लु.१ ख ७०२१ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने टुकमान पुनको छोरा ८ वर्षीय सरोज पुनको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।