२०८१ मंसिर ९ , आइतवार

युक्रेनको बुचामा सडकमा छरिएका शवमाथि रुसी दाबीको ‘फ्याक्ट चेक’

सुनाखरी न्युज/ काठमाडौं –
चेतावनी – यो रिपोर्टमा प्रयोग गरिएका तस्बिरले केहीलाई विचलित बनाउन सक्छ । संयुक्त राष्ट्रका महासचिव एन्टोनिया गुटेरेसले युक्रेनको बुचा शहरमा मानिसको हत्याको तस्बिरमाथि एक स्वतन्त्र अनुसन्धानको माग गरेका छन् ।

 

किभको बाहिरी इलाकास्थित बुचमा रुसी सेना पछि हटेपछि शहरका गल्लीमा शव छरिएको तस्बिर सार्वजनिक भइरहेका छन् । केही पत्रकारले पनि यी शव देखेका छन् । युक्रेनले रुसमाथि जानीजानी हत्या गरेको आरोप लगाएका छन् । यता रुसले यसलाई ‘युक्रेनी सरकारलाई उक्साउने खेल’ को रुपमा वर्णन गरेको छ । साथै, रुसले बुचाबाट सार्वजनिक भएका फुटेजमाथि थुप्रै दाबी गरेको छ ।

रुसको दाबी : नक्कली शव

बुचाबाट रुसी सेना हटेपछि एउटा कारबाट लिइएको फुटेजमा सडकका दुबैतिर शव देख्न सकिन्छ । यो फुटेज सार्वजनिक भएपछि रुसको समर्थन गर्ने सोसल मिडिया अकाउन्ट्सले यसको ‘स्लो डाउन’ भिडियो सेयर गरेको छ र फुटेजमा एउटा शवको हात हल्लिरहेको दाबी गरेको छ । क्यानडामा रुसी दूतावासले यसलाई ट्वीट गर्दै लेखेको छ, ‘किभ नजिकै बुचा शहरमा नक्कली शवको नक्कली भिडियो ।’

 

भिडियो थोरै ब्लर छ तर नजिकबाट विश्लेषण गर्ने हो भने जसलाई रुसले हल्लिरहेको बताइरहेको छ त्यो वास्तवमा कारको विन्डस्क्रिनको दायाँ कुनामा भएको एउटा मार्क बताएको छ । स्पष्ट देखियोस् भनेर हामीले त्यो चिन्हमा गोलो घेरा लगाएका छौँ । यो चिन्ह धुलोको कण वा पानीको थोपाजस्तै छ । यो फुटेजबारे रुसले अर्को एउटा दाबी गरेको छ । फुटेजको त्यो हिस्सामा कार अर्को एउटा शव नजिकैबाट यात्रा गर्छ । यो शव रातो र पहेँलो ढुङ्गा भएको फुटपाथमा छ ।

 

शवलाई थोरै समयका लागि कारको दायाँ भागको ऐनाबाट देख्न सकिन्छ । रुसलाई समर्थन गर्ने सोसल मिडिया अकाउन्टमा यसमा शव बसिरहेको जस्तो देखिएको दाबी गरिएको छ । तर स्लो मोशन भिडियोमा फुटेजको यो भाग हेर्दा ऐनाले शवको प्रतिबिम्बका साथै पृष्ठभूमिमा रहेका घरहरूलाई पनि स्पष्ट रूपमा देखाउन सकेको छैन । इन्टरनेटमा पोष्ट गरिएका मिररका अन्य धेरै भिडियोहरूमा पनि त्यस्तै देख्न सकिन्छ ।

 

बीबीसीले अप्रिल २ मा पोस्ट गरिएको भिडियोलाई फोटो एजेन्सी गेटी र एएफपी खिचेका ३ अप्रिलका तस्बिरहरूसँग तुलना गरेको छ ।भिडियोमा पहिला शव उत्तानो परेको जस्तो देखिन्छ । शवको दाहिने पट्टि फुटपाथमा थोरै घाँस र थोरै ढुङ्गा छन् । साथै, सेतो बारको छेउमा एउटा सिल्भर रङको कार फुटपाथमा देखिएको छ जसको डिक्की खोलिएको अवस्थामा छ ।

 

यही कार, फुटपाथ र बार गेटी–एएफपीको तस्बिर पनि छ । अर्को शव कालो ज्याकेटमा छ । शवको दाँयातर्फ ब्यान्डेज देखिएको छ । यो शव रातो र पहेँलो फुटपाथ नजिकै र भत्किएको बार अगाडि छ ।यो कालो ज्याकेट, ब्यान्डेज, फुटपाथ र बार… सबै गेटी–एएफपीको तस्बिरसँग मेल खान्छ ।

दाबी : शव आँकडा होइन

रुसको विदेश मन्त्रालयले ट्विटमा लेखेको छ, ‘किभको सरकारले प्रकाशित गरेका तस्बिरहरू चार दिन बितिसक्दा पनि ‘कक्रक्क’ परेको छैनभन्ने विशेष चिन्ताको विषय हो ।’ युक्रेनी सेनाका अनुसार रुसीहरूले ३१ मार्चमा बुचा छोडेका थिए भने रुसले ३० मार्चमा मात्र बुचा छोडेको दाबी गरेको छ । मृत्युपछि शव एउटा प्रक्रियाबाट गुज्रिन्छ जसलाई ल्याटिन भाषामा रिगर मोर्टिस भनिन्छ । यो चरणमा मांसपेशी संकुचित हुन्छन् र त्यसपछि कक्रक्क हुन्छन् ।

 

हामीले यस विषयमा फोरेन्सिक प्याथोलोजिस्टसँग परामर्श लियौँ र मृत्युको चार दिनपछि शव कडा हुन्छ कि भनेर सोध्यौँ । रुवान्डा र कोसोभो जस्ता ठाउँहरूमा युद्ध अपराध अनुसन्धानमा भाग लिइसकेका प्याथोलोजिस्टले नाम नछाप्ने शर्तमा बीबीसीलाई सामान्यतया चार दिन पछि शव कक्रक्क पर्नु सामान्यतया कम हुने जानकारी दिए । रुसले आफ्नो ट्वीटमा यो पनि दाबी गरेको छ कि शवमा कुनै दाग छैन ।

 

यसो भन्नुमा उनीहरुको अभिप्राय के हो भन्ने स्पष्ट छैन तर प्याथोलोजिस्टका अनुसार बन्दुकको गोलीका कारण भएको मृत्युमा शवमाथि असर, प्रयोग गरिएका हतियारका कारण भिन्न भिन्न हुन्छ । कहिलेकाहीँ यस्तो मृत्युमा रगतको दाग देखिँदैन । रगतको धब्बा कपडा भित्र होस् भएको पनि हुनसक्छ, यो बाहिर नदेखिएको पनि हुनसक्छ । चिसोको कपडामा दाग देखिन थप मुश्किल हुन्छ ।

 

दाबी : हिंस्रक कारवाहीमा एकजना पनि स्थानीयलाई हानी भएन
रुसी रक्षा मन्त्रालयले दाबी गरे अनुसार बुचा रुसी कब्जामा रहेको बेला ‘त्यहाँ एकजना पनि स्थानीय बासिन्दाले कुनै पनि हिंसात्मक कार्यको सामना गर्नुपरेको छैन ।’ तर यो दाबी धेरै प्रत्यक्षदर्शीको बयानसँग मेल खाँदैन । एक स्थानीय शिक्षकले ह्युमन राइट्स वाचलाई रुसी सेनाले पाँच जनालाई भेला गरेको र तीमध्ये एकलाई गोली हानेको बताए ।

 

रूसी वेबसाइट ‘द इनसाइडर’ सँग कुरा गर्ने स्थानीयहरूले पनि यस्तै कुरा भने । क्रिस्टिना नामकी एक स्थानीय महिलाले द इनसाइडरलाई भनिन्, ‘यो डरलाग्दो दिन हो । यस्तो दिन जब तपाईंको घरबार र सम्पत्ति पनि तपाईंको आफ्नो रहँदैन । तपाईंको जीवन पनि तपाईंको होइन । न पानी हो, न बिजुली, न ग्यास । घर छोड्न प्रतिबन्ध छ । यदि तपाईं घरबाट निस्कनु हुन्छ भने तपाईंलाई गोली हानिनेछ ।’

 

रुसीहरूले मानिसहरूको घरका ढोकाहरू तोडेर लुटपाट गरेको स्थानीयले बीबीसीलाई बताए । सैनिकहरूले बहुमूल्य सामान र खानासम्म चोरेका छन् । रुसी रक्षा मन्त्रालयले पनि ‘उनको सेनाले ३० मार्चमा बुचा छोडेको र यो फुटेज युक्रेनी सेना र मिडिया बुचा सहरमा आएको चार दिनपछि सार्वजनिक भएको’ दाबी गरेको छ ।

 

तर एएफपी जस्ता सञ्चारमाध्यमहरूले अप्रिल २ मा शवको तस्बिर प्रकाशित गरेका छन् । बीबीसीले अप्रिल १ सम्म सडकमा लडिरहेका शवको भिडियो सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको पनि पत्ता लगाएको छ ।बीबीसी