२०८१ मंसिर ११ , मंगलबार

आसन्न निर्वाचनमा भ्रष्टाचारीलाई जनताले तह लगाउँछन् : प्रवक्ता शाही

कमल पौडेल अथक/ पोखरा । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी निर्वाचनमा जनताले भ्रष्टचारीलाई पाखा लगाउने वताएका छन् । राप्रपा कास्की क्षेत्र नं २ तथा पोखरा वडा नं ८ को पार्टी सम्पर्क कार्यालयको बिहीवार पोखरामा उद्घाटन गर्दै प्रवक्ता शाहीले सो कुरा वताएका हुन् ।

 

उनले देशमा यतिवेला मिलेर भ्रष्टाचार गर्ने गिरोह सक्रीय रहेको वताए । जनताको अपेक्षा पूरा गर्न भन्दा आफ्नो भुँडी भर्न अहिलेका प्रमुख दलहरु हूल बाँधेर लागेको शाहीले जिकिर गरे । हिन्दूधर्म सहितको एकात्मक साशन व्यवस्थाले नै मुलुकमा रुपान्तरण आउने उनको भनाई छ । राष्ट्र र राष्ट्रियताको लागि अव सवै नेपालीहरु एक जुट हुनुको विकल्प छैन,– प्रवक्ता शाहीले भने ।

 

उनले आगामी चुनावमा राप्रपाले जितेमा देशमा स्वास्थ्य, शिक्षा, निशुल्क गराउनुको साथै स्वदेशमा नै रोजगारी सृजना गर्ने वताए ।पार्टीका धार्मिक विभाग प्रमुख पुष्पराज पुरुषले विदेशीको इसारमा देशको धर्म संस्कार विक्री गरिएको वताउँदै अव आम नेपाली चनाखो हुनु पर्ने धारणा व्यक्त गरे । उनले संस्कार र संस्कृति माथिको हमला अव जनतालाई सैह्य नभएको वताए ।

 

राप्रपा कास्की क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश अध्यक्ष पञ्चराम गुरुङ, राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङ, नेताहरु जयलाल पुन, कुलवहादुर गुरुङ कुलु वडा नं ८ का इकाइ अध्यक्ष बाबुराम चालिसे लगायतले बोलेको राप्रपा कास्कीका सहसचिव सुवर्णराज पन्तले जानकारी दिएका छन् ।