२०८१ मंसिर ९ , आइतवार

क्रोएसियाद्धारा २४ रुसी कुटनीतिज्ञ तथा कर्मचारीलाई देश छाड्न आदेश

सुनाखरी न्युज/ काठमाडौं –

क्रोएसियाले आफ्नो देशमा रहेका २४ रुसी कुटनीतिज्ञ तथा कर्मचारीहरूलाई तत्काल देश छाड्न आदेश दिएको छ । रुसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको र विश्वका धेरै देशहरूले त्यसको विरोध गरिरहेका बेला क्रोएसियाले आफ्नो देशमा रहेका रुसी अधिकारीहरूलाई देश छाड्न आदेश दिएको हो ।

 

युरोपेली, अमेरिकी लगायतका धेरै देशले आफ्नो मुलुक भित्र रहेका रुसी अधिकारीहरूलाई देश निकाला गर्दै आएका छन् । रुसी अधिकारीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मर्यादा विपरितका क्रियाकलाप गरेकाले उनीहरूलाई देश निकाला गर्नु परेको ती देशका अधिकारीहरूले जनाएका छन् । क्रोएसियाले देश छाड्न आदेश दिएका २४ रुसी अधिकारीहरू मध्ये १८ जना रुसी कुटनीतिज्ञ रहेका छन् भने बाँकी छ जना कर्मचारी रहेका छन् ।

 

 

युक्रेनमाथि युद्ध अपराध नगर्न आग्रह गर्दै आएकोमा रुसले आफूलाई नसुधारेको क्रोएसियाका अधिकारीहरूको भनाई छ । रुसले गत फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गरिरहेको छ भने आक्रमणका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । साथै विश्व अर्थतन्त्र र राजनीतिमा समेत यसले नकारात्मक असर परेको छ । -एएफपी