२०८१ आश्विन ७ , सोमवार

मुलुक निर्वाचनमय, राजनीतिक दलका गतिविधि बढे

सुनाखरी न्युज/ काठमाडौं। निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तरक्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन र तालिम प्रशिक्षण पूरा गरेको छ ।

 

निर्वाचनसम्कन्धी गतिविधि र कार्यक्रम अक केन्द्रबाट प्रदेश हुँदै स्थानीय तहतर्फ उन्मुख भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । राजनीतिक दल उम्मेदवार सिफारिसको अन्तिम तयारीमा जुटेका छन् भने निर्वाचन आयोग व्यवस्थापन गरिएको सामग्री र निर्वाचन अधिकृतलाई खटिएका तत्तत् पुर्याउने कार्यमा लागिपरेको छ ।

 

आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचत अधिकृत र जिल्ला निर्वाचन अधिकारीका लागि मुलुकका आठ स्थानमा निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रशिक्षक प्रशिक्षण सम्पन्न गरिसकेको छ । प्रशिक्षण विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्ज चैत ३० र जनकपुर, हेटौँडा, बुटवल र धनगढीमा वैशाख २ गते सम्पन्न भएका हुन् । राजनीतिक दलले पनि यसबीचमा स्थानीय तहमा भेला र प्रशिक्षणका अधिकाश कार्यक्रम पूरा गरिसकेका छन् । यही वैशाख ३० गते शुक्रवार देशका सबै स्थानीय तहमा एकै चरणमा हुने निर्वाचनका लागि निर्वाचन अधिकृतलाई चैत २९ गतेदेखि लागू हुने गरी आयोगले नियुक्ति दिइसकेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । निर्वाचन अधिकृत कार्यक्षेत्रतर्फ प्रस्थान गरी पूर्वतयारीका काममा जुट्ने कार्य सुरु भइसकेको छ । दुर्गम जिल्लामा खटिएका कतिपय अधिकृत केन्द्रबाट त्यसतर्फ प्रस्थान गरिसकेको आयोगले जानकारी दिएको छ ।

 

तालिम प्रशिक्षण लिएका निर्वाचन अधिकृतले मुलुकका सबै स्थानीय तहमा यही वैशाख ८ गते विधिवतरूपमा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याउनुहुनेछ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयमा कम्तीमा नौ जनाका हिसाबले मुलुकभर करिब दुई लाखको सङ्ख्यामा कर्मचारी खटिने आयोगले बताएको छ । आयोग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको समन्वय र सहकार्यमा यसबीचमा सञ्चारकर्मीका लागि निर्वाचन आचारसंहितासम्बन्धी प्रदेशस्तरीय प्रशिक्षणसमेत सम्पन्न भइसकेको छ ।

मुलुकको राजधानी, प्रदेश र स्थानीय तहका मुकाममा मात्र नभई वडा, टोल, मेला, भेला, चोक, चिया पसल र घरपरिवारमा समेत स्थानीय तह निर्वाचनसम्बन्धी विषयमा हुने चर्चा र परिचर्चाले निर्वाचनको वातावरण बनाएको छ ।