२०८१ कार्तिक १७ , शनिवार

गभर्नरमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन राष्ट्र बैंकका कर्मचारीहरुको माग

सुनाखरी न्युज/ काठमाडौं। गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाहीविरुद्ध नेपाल राष्ट्र बैंकका कर्मचारीहरु आन्दोलित भएका छन्। कर्मचारीहरुले गभर्नर अधिकारीमाथि कारबाहीको विरोधस्वरुप आज राष्ट्र बैंकमा कोण सभा आयोजना गरेका हुन्।

सभामा नेपाल राष्ट्र बैंक कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले गभर्नर अधिकारीमाथि गरिएको कारबाही फिर्ता गर्न सरकारसँग माग गरे। कारबाही फिर्ता नभए आन्दोलनका थप कार्यक्रमहरु बाध्य हुने चेतावनी पनि उनले बताए। जबजब राज्य सञ्चालकहरु वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरुको चंगुलमा फस्ने गर्छन् तब तब राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको तिम्सिनाले आरोप लगाए। ‘हालको गभर्नरमाथिको आक्रमण नयाँ नभई योभन्दा अगाडि पनि राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमणहरु हुने गरे पनि उनले स्मरण गराए।

 

यसअघि पनि केन्द्रीय बैंकका गभर्नरहरु कल्याणविक्रम अधिकारी, तिलकबहादुर रावल र विजयनाथ भट्टराईलाई तत्कालीन सरकारहरुले गरेको बर्खास्ती तथा निलम्बनको कर्मचारीहरुले विरोध गरेको तिम्सिनाले बताए। ‘त्यति बेला पनि हामी अख्तियारदेखि अदालतसम्म गएर आन्दोलन गरेका थियौँ’, चेतावनी दिँदै उनले भने, ‘त्यसैले हालका गभर्नरमाथि गरिएको कारबाही पनि सरकारले फिर्ता गरोस्, नत्र थप आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने छौँ।’ कर्मचारीहरुले विरोधस्वरुप राष्ट्र बैंकको केन्द्रीय कार्यालयलगायत उपत्यकाबाहिरका सम्पूर्ण कार्यालयहरुमा एकैसाथ कालो ब्यानर झुन्डाएका छन्।