२०८१ आश्विन १५ , मंगलबार

वैशाख ११ गतेदेखि उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने तयारी

सुनाखरी न्युज/ काठमाडौं । मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाडौं उपत्यकावासीका धारामा वितरण गर्ने तयारी गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीको निर्देशनपछि आयोजनाले पानी वितरणको तयारी थालेको हो ।

 

पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई मन्त्री चौधरीले निर्देशन दिनुभएको थियो । मेलम्चीको मुहानबाट गत चैत ३० गते सुरुङमा हालिएको पानी मंगलबार राति सुन्दरीजलमा आइपुगेसँगै मन्त्री चौधरीले सरोकारवाला निकायका अधिकारीलाई समयमै पानी उपलब्ध गराउन निर्देशन दिनुभएको थियो । काठमाडौं उपत्यकाका १० वटै पानीपोखरीबाट समानुपातिक रुपमा पानी वितरण गर्नसमेत उहाँले आग्रह गर्नुभएको छ ।

 

मन्त्रालयका सचिव सुरेश आचार्यले खानेपानी चुहावट भएका स्थानमा सडक विभागसँग समन्वय गरेर मर्मतसम्भार गरी सडक पुनःनिर्माण गरिने बताउनुभयो । मुहानबाट २६० लिटर प्रतिसेकेण्डका दरले सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको थियो । सुरुङ पूरा भरिन दुई दिन लाग्नेछ । भरिएपछि प्रशोधन केन्द्रमा ल्याई प्रशोधन गरी मेलम्चीको पानी वितरण गर्ने तयारी गरिएको छ ।

 

यसअघि राजधानी आइपुगेको पानी गत वर्ष असार १ गतेको बाढीका कारण मुहान क्षेत्रका संरचना भत्किएपछि अवरुद्ध भएको थियो ।