२०८१ आश्विन १५ , मंगलबार

पोखरीछाप होमस्टे सञ्चालकलाई टेवानको तालिम

दीपक परियार/ (कोल्मा, स्याङ्जा) स्याङ्जाको पुतलीबजार नगरपालिका–९ कोल्मामा रहेको पोखरीछाप सामुदायिक होमस्टेका सञ्चालकलाई पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । टेवानले पर्यटन बोर्डको सहयोगमा शुक्रबार र शनिबार पोखरीछापमा कार्यक्रम आयाजना गरी होमस्टे व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेको हो ।

 

तालिममा पोखरा पर्यटन परिषद्का सचिव एवं गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशक संस्थापक अध्यक्ष तारानाथ पहारीले आतिथ्य सत्कार, स्वच्छ र अग्र्यानिक खाना, रैथाने संस्कृति जगेर्नाको बारेमा सहजीकरण गरे । उनले पर्यटकले खोज्ने सेवा सुविधाको माग परिवर्तित भइरहेको अवस्थामा सोहीअनुरुप होमस्टेलाई स्तरोन्नति गर्दै लैजानुपर्ने बताए । ‘स्थानीय संस्कृतिको जगेर्ना महत्त्वपूर्ण पाटो हो,’ उनले भने, ‘गाउँमा आउने पाहुनालाई ऐतिहासिक पर्यटकीय स्थलको बारेमा जानकारी गराउने, गाउँमै उत्पादिन खान्की खुवाउने हो भने होमस्टे दिगो हुन्छ ।’

 

स्थानीयसँगको अन्तरक्रियामा नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका नवनिर्वाचित अध्यक्ष हरिराज अधिकारीले गाउँमा रहेका ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्न विशेष जोड दिए । गाउँमै कोसेली घर बनाएर स्थानीय उत्पादन विक्री वितरण गर्न सके आम्दानीको स्रोत वृद्धि हुने उनको भनाइ थियो । ‘कुनै गाउँमा पाहुना पुग्दा त्यहाँबाट घरमा र साथीसंगीलाई के कोसेली लैजाने भन्ने हुन्छ,’ उनले भने, ‘गाउँभरिको उत्पादन एक ठाउँमा केन्द्रित गरेर विक्री गर्न सक्ने स्थानीयको आम्दानी बढ्छ ।’टेवानकी अध्यक्ष रेनु थापा मगरले होमस्टे सञ्चालकको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरेको बताइन् । पर्यटनको माध्यमबाट समृद्धि हासिल गर्ने सरकारको समेत लक्ष्य रहेको अवस्थामा गाउँ पर्यटनलाई जोड दिन पोखरीछाप रोजेको उनले जनाइन् । टेवानकी महासचिव शोभा पाण्डेले पोखरीछापमा कृषि पर्यटनको समेत सम्भावना रहेको उल्लेख गरिन् । कार्यक्रम संयोजक सरिता बराल क्षेत्रीले पोखरीछापको आतिथ्यता र आत्मीयताले अविष्मरणीय रहेको बताइन् ।

 

ऐतिहासिक कोल्माकोटको काखमा रहेको गुरुङबस्ती पोखरीछाप मिलिनियम टे«कअन्तर्गत पर्दछ । स्याङ्जाको पुतलीबजार वा तनहुँको दुलैगौंडा हुँदै पोखरीछाप पुग्न सकिन्छ । मिलिनियम टे«क व्यवस्थापन समितिका अध्यक्ष नवीनप्रकाश गुरुङका अनुसार पोखरीछाप र मुलाबारीका २० घरले होमस्टे सञ्चालन गरेका छन् । होमस्टेमा आउने पाहुनालाई गाउँकै उत्पादन खुवाइन्छ । साँझको सांस्कृतिक कार्यक्रममा घाँटु र झोर्रा नाच देखाइन्छ । ‘यहाँको विशेषता नै सांस्कृति पर्यटन हो,’ उनले भने, ‘सँगसँगै ऐतिहासिक कोल्माकोट, कन्यादेवि मन्दिर, गुफा पनि पर्यटकीय आकर्षणको केन्द्र हुन् ।’ कृषिमा समेत पोखरीछाप अगाडि रहेको उनले सुनाए ।

 

पोखरीछाप सामुदायिक होमस्टेका अध्यक्ष मिनबहादुर गुरुङले एक रातमा ५० जनासम्म पाहुनालाई राख्न सकिने बताए । हाल गाउँमा आन्तरिक पर्यटक गाउँमा पुग्ने गरेको र फाट्टफुट्ट विदेशी पर्यटक समेत मिलिनियम टे«क हुँदै आउने गरेको उनले सुनाए । पर्यटन–पोखरीछाप सांस्कृतिक समूहकी अध्यक्ष तिलकुमारी गुरुङले टेवानको तालिम निकै फलदायी भएको बताइन् ।