सुनाखरी न्युज/ काठमाडौं –
आङ सारकी शेर्पाको काम विश्वको सबैभन्दा जोखिम भरिएको काममध्ये एक हो तर उनी विभिन्न जोखिमसँग जुध्दै आफ्नो कामलाई निरन्तरता दिइरहेका छन् ।
विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहण गर्ने पर्वतारोहीका लागि डोरी र एल्यूमिनियमको सिँढी राख्ने आङ सारकी शेर्पा ‘आइसफल डाक्टर’ को रुपमा परिचित छन् । उनी नेपालका सबैभन्दा अनुभवी शेर्पामध्ये एक हुन् । परिवर्तनशील हिमनदीको बरफ र गहिरो खाडलहरुसँग लड्दै शर्पाले आफ्नो जोखिमपूर्ण कामले हरेक वर्ष सयौँ आरोहीहरुलाई सगरमाथा चढ्न सक्षम बनाउँछन् । उनी अप्रिल र मे महिनामा बेस क्याम्प पुग्छन् जहाँबाट सगरमाथा आरोहण गर्ने सिलसिला सुरु हुन्छ । पछिल्ला केही वर्षमा सगरमाथा आरोहण निकै जोखिमयुक्त रहेको छ ।
केही वर्षमा यहाँ हिम पहिरोका थुप्रै खतरनाक घटना भएका छन् । त्यसपछि सन् २०२० मा कोभिडका कारण यहाँ पुग्ने पर्वतारोहीको संख्या कम रह्यो । तर हाल पर्वतारोहीको संख्यामा वृद्धि हुने हो कि भन्ने अत्यधिक आशा गरिएको थियो तर रुस–युक्रेनको युद्धले सबै आशा निराशामा परिणत भएको छ । ५० वर्षीय आङ सारकी शेर्पा सगरमाथाको आधार शिविरमा राखिएको पहेँलो पाल बाहिर उभिएर खुम्बु हिमनदीतर्फ औँल्याउँछन् । उनी भन्छन्, ‘यो असाध्यै खतरनाक स्थानमा समावेश छ । यहाँ बरफबीच थुप्र खाडल छन् । यदि तपाईंले सावधानी अपनाउनु भएन भने तपाईं त्यसमा खस्न सक्नुहुन्छ ।
डोरीले बाटो बनाउनुभएको छ भने पनि त्यो एक महिनाभित्र गायब हुनसक्छ । यो एक खतरनाक काम हो ।’बीबीसीको समूह यो स्थानमा पुग्दा यहाँ ६ स्थानीय शेर्पा आफूलाई वातावरण अनुसार ढाल्ने कोसिस गरिरहेका थिए । आङ सारकी शेर्पा यी शेर्पाको समूहको नेतृत्व गरिरहेका छन् । टेन्ट बाहिर डोरी र सिँढी बिच्छ्याइएको थिए र आधार शिविरमा अन्य पर्वतारोही दलले पनि आफ्नो टेन्ट लगाइरहेका थिए ।
खतरनाक खाडल भएका स्थानः
आइसफल डाक्टर अर्थात् शेर्पाको दल क्याम्प वान र क्याम्प टुसम्मका लागि सुरक्षित बाटोको पहिचान गरेर डोरी लगाउने काम गर्छन् । त्यसपछि दोस्रो दलले त्यसपछिको काम सम्हाल्छन् जसले पर्वतारोहीलाई सगरमाथाको चुचुरोसम्म लिएर जान्छन् । सन् २०१४ मा खुम्बु हिमनदीमाथि आएको हिम पहिरोमा डोरी लगाउँदै गरेका १६ शेर्पाको मृत्यु भएको थियो । त्यसपछि अर्को वर्ष आएको महाभूकम्पपछि आएको भयानक हिम पहिरोमा १९ जनाको मृत्यु भएको थियो । त्यसपछि महामारीका कारण नेपालमा सगरमाथा आरोहण गर्नेको संख्यामा कमी आएको छ । यसवर्ष पर्वतारोहीको संख्यामा वृद्धि हुने आशा गरिएको थियो तर युक्रेनमाथि रुसको हमलाले स्थिति फेरिदिएको छ ।
आङ सारकी शेर्पा भन्छन्, ‘युद्ध प्रभावित क्षेत्रमा आउने समूहले लडाईंका कारण आफ्नो योजना रद्द गरेको भन्ने हामीले सुनेका छौँ ।’आधार शिविर ८८४८ मिटर अग्लो सगरमाथाको चुचुरोसम्म पुग्न चाहनेहरुका लागि मात्रै होइन । समुद्र सतहदेखि ५४०० मिटर उचाईमा रहेको आधार शिविरसम्म पुग्न हरेक वर्ष संसाररभीबाट हज्जारौँ मानिस पुग्छन् । आधार शिविरको पदयात्रा लुक्लाबाट सुरु हुन्छ, जसलाई सगरमाथाको देहरी भनिन्छ । यो ट्र्याक पूरा गर्न दुई हप्ता लाग्छ । सन् २०२० मा कोभिड महामारी फैलिएपछि नेपालले सन् २०२१ मा पर्वतारोहीलाई सगरमाथा आरोहरणका लागि ४०८ परमिट जारी गर्यो । यस वर्ष नेपालको पर्यटन मन्त्रालयले १९ अप्रिलसम्म मात्रै २८७ परमिट जारी गरेको छ ।
युक्रेनबाट एकजना मात्रै पर्वतारोहीः
नेपालको पर्यटन विभागमा पर्वतारोहण डिभिजनका निर्देशक सूर्य प्रसाद उपाध्याय भन्छन्, ‘युद्धका कारण रुस र युक्रेनबाट आउने पर्वतारोहीमाथि असर परेको छ । अहिलेसम्म युक्रेनबाट एकजना मात्रै पर्वतारोही आएका छन् ।’ यसका साथै १७ रुसी पर्वतारोहीलाई सगरमाथा आरोहणका लागि परमिट दिइएको छ । अन्य रुसी पर्वतारोहीले आफ्नो योजना रद्द गरेका छन् । रुसी पर्वतारोही आफ्नो देशको मुद्रा रुबलको अवमूल्यनका कारण पनि प्रभावित छन् । यसका साथै आक्रमणपछि रुसी अर्थव्यवस्थामाथि लागेको अन्तरराष्ट्रिय प्रतिबन्धका कारणले पनि उनीहरुको मुद्रा विदेशमा प्रयोग गर्न मुश्किल भएको छ ।
आधार शिविरको घातक बाटोमा बसेको गाउँ पर्वतारोहीको यात्रामा निकै सहयोगी साबित हुन्छन् । यी गाउँमा पनि युक्रेनको युद्धले नराम्रोसँग असर पारेका छ । फाकडिङ गाउँमा शेर्पा गेस्ट हाउस चलाउने आङ दवा शेर्पा भन्छन्, ‘युद्ध सुरु भएपछि इन्धन र अन्य चिजको मूल्य बढेको छ । हाम्रो व्यापारका लागि ती सबै असाध्यै महत्वपूर्ण छन् । मूल्य थप बढ्न सक्ने अनुमान गरिएको छ, यो असाध्यै चिन्तित पार्ने कुरा हो ।’नेपाल सरकारले यस वर्या चारपटक पेट्रोल र डिजलको मूल्य वृद्धि गरेको छ, त्यसैले सामान ढुवानी असाध्यै महँगो हुन्छ । हालैका वर्षमा सगरमाथा आरोहण गर्न मानिसको रुची बढेसँगै थुप्रै प्रश्न निम्तिएका छन् । यीमध्ये सबैभन्दा महत्वपूर्ण प्रश्न भनेको सगरमाथा जस्तो शिखरसम्म पुग्ने मार्गमा अलि धेरै नै भीड भएन र ?
सन् २०१९ मा एक अचम्मित पार्ने तस्बिर सार्वजनिक भएको थियो जसमा बरफले ढाकेको बाटोमा सयौँ मानिस एक–अर्काको निकै नजिक भएर हिँडिरहेका थिए । यो तस्बिरले पर्वतारोहणका बेला सुरक्षा व्यवस्थासँग जोडिएको गम्भीर प्रश्न निम्तिएको थियो । यो मुद्दामा नेपाल सरकारले यस्तो स्थितिसँग जुध्न आफूले कदम उठाएको बताएको छ । नेपालका पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपाने भन्छन्, ‘हामी सगरमाथामा भीडको समस्या हटाउनका लागि काम गरिरहेका छौँ । हाम्रो मन्त्रालय पर्वतारोहीको दीर्घकालीन परमिट दिइरहेको छ जसले यो अभियानलाई नियम अन्तर्गत पूरा गर्न सहयोग गर्छ ।’ बीबीसी