सुनाखरी न्युज/ काठमाडौं । नेपाल धितोपत्र बोर्डले बोर्डबाट अनुमति नलिई धितोपत्रको दोस्रो बजारको कारोबार र लगानी सम्बन्धी सेवा प्रदान गर्ने संस्थाहरुबाट कुनै पनि प्रकारको सेवा नलिन आम लगानीकर्तालाई आह्वान गरेको छ ।
साथै बोर्डले अनुमति नलिई यस किसिमका सेवाहरु संचालन गरेमा गैरकानूनी हुने र धितोपत्र सम्बन्धी ऐन बमोजिम कारबाही हुने जनाएको छ । बोर्डले हाल बजारमा केही व्यक्तिहरुले धितोपत्रमा लगानी गर्ने उद्देश्य रहेका विभिन्न संस्थाहरुको स्थापना गरी सामाजिक संजाल मार्फत लगानीकर्ताहरुलाई विभिन्न प्रलोभन देखाई लगानी गर्न आह्वान गरेको पाइएको बताएको छ । उक्त कम्पनीहरुमा लगानी गर्नु वा उक्त सेवाहरु लिनु अगाडी आवश्यक सचेतता अपनाउनका साथै बोर्डबाट अनुमति लिए नलिएको यकिन गरेर मात्र लगानी गर्न तथा सेवा लिन आग्रह गरेको छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा सो अन्तर्गत बनेका नियमावली, विनियमावली तथा निर्देशिका बमोजिम धितोपत्रको सार्वजनिक निष्काशन, धितोपत्रको खरिद तथा विक्री, डिम्याट तथा मेरो शेयर खाता संचालन, लगानी व्यवस्थापन, शेयर रजिष्ट्रार, संस्थागत परामर्श, प्रत्याभूति, आस्वा, सामुहिक तथा विशिष्टिकृत (प्राईभेट इक्विटी, भेन्चर क्यापिटल तथा हेड्ज फण्ड) लगानी कोष संचालन जस्ता कार्यहरु धितोपत्र बोर्डबाट अनुमति लिई गर्नुपर्ने व्यवस्था रहेको छ । उपर्युक्त कार्यहरु धितोपत्र बोर्डबाट अनुमति नलिई संचालन गरेमा गैरकानूनी हुने र धितोपत्र सम्बन्धी ऐन बमोजिम कारबाही हुने बोर्डको भनाई छ ।