२०८१ मंसिर १२ , बुधवार

मेरो कविता !!

प्रेम चौलागाई (अमेरिका )

मेरो कविता
तिमीले निहालेर हेर त
कति गहिरो छ कति चौडा छ
हो त्यही हो मेरो कविता
तिमी त्यसलाई आकास भन्छौ।

मेरो कविता
कसैको करेशा वारीको गोलभेडा होईन
शहरका अग्ला महलहरुको भित्ति पनि होइन॥

तिमी भन्छौ तिम्रो कविताले जे भन्छ
गोलभेडाले त्यही अनुसार फल्नु पर्छ
नत्र कुहिएर झर्नु पर्छ ।
भित्तिको मध्यरातको टिकटिक आवाजले
सुमधुर बाँसुरीको आवाज विर्सानु पर्छ ।
किनकी तिम्रो आहारा मच्छडहरु हुन
तर यो मेरो कविता होईन !

मेरो कविता भोकसंग संगै सुन्छ ।
जाडोका नाङ्गै
पल्लो डाँडाको आगो देखेर निदाउछ । आश्वासनका चित्कारहरु
छरपष्ट सडक र पेटीमा
विस्कुन बनि सके
तर पनि मेरो आङ्‌मा न्यानो
कतैबाट
एक अञ्जुली घोट्टिएन भन्दै भिक्षा माग्दैन ।

असंख्य पवित्र मनहरु बाट
आत्मा मा उठेको ज्वाला ले
तिम्रा कविताका विस्कुनहरु
खरानी बनाउँदै हिड्छ मेरो कविता !

मेरो कविता
पुरै आकाश घुम्छ
जुनेली हो मेरो कविता
धर्तिमा कोदोको वालामा फुल्छ
डगमगाउदैन र
कसैको वैशाकीका रमाउदैन
र त
आफ्नै तागतमा उभिने
वाहुवली हो मेरो कविता।

मेरो कविता सरिरले होचो होला
तर नझुकेरै सगरमाथा जस्तै अग्लो छ।
भिक्षा मागेर करोडपति बन्दैन
मेरो कविता
अरुको प्रगतिमा उत्सव मनाउँछ ।
मेरो कविता
शिर झुकाएर सत्ताको भिख माग्दैन
बरु सत्ताका भिखारी मुक्त समाजको नायक हो
मेरो कविता ।
पाँचथरको कोदोको वालामा फुलेर पनि झापाको धानको तरेलीमा आफूलाई बदल्दैन कहिल्यै
!
यो कवितालाई माया गरेर त हेर
धर्ति आकास पुरै तिम्रो हुनेछ।
त्यसैले
कसैको करेशावारीको गोलभेडा को
बन्दैन मेरो कविता॥