२०८१ आश्विन ७ , सोमवार

रोल्पाको माडीमा झडप, काँग्रेसका उम्मेदवार डाँगी घाइते

सुनाखरी न्युज/ काठमाडौं –

रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली काँग्रेस र नेकपा (एमाले) का कार्यकर्ताबीच गएराति झडप भएको छ । झडपमा परेर काँग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका छन् ।

 

तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा झडप भएको हो । डाँगीलाई रड प्रहार गरी सख्त घाइते बनाएको काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले जानकारी दिए । उनलाई उपचारका लागि दाङतर्फ लगिएको छ । बाटोमा डाँगी चढेको गाडी नियन्त्रणमा लिएर उनीमाथि आक्रमण गरिएको घर्तीको आरोप छ । आफ्ना कार्यकर्तामाथि आक्रमण भएपछि प्रतिकार गरेको माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले बताए ।

 

झडपलगत्तै प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए । “अहिले अवस्था सामान्य छ”, उनले भने । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि माडी गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तथा कांग्रेस र एमालेबीच छुट्टाछुट्टै चुनावी तालमेल भएको छ । रासस