२०८१ आश्विन १४ , सोमवार

म्याग्दीमा नाच्दै, गाउँदै भोट माग्दै उम्मेदवार

सुनाखरी न्युज/ म्याग्दी-

स्थानीय तहको निर्वाचन आउन अब आठ दिन मात्र बाँकी रहँदा म्याग्दीमा दलहरूले चुनाव प्रचार–प्रसारलाई तीव्र पारेका छन्। सहर–बजारदेखि ग्रामीण क्षेत्रसम्म निर्वाचनको रौनक छाएको छ।

 

गणतन्त्र स्थापना पछि दोस्रोपटक हुन लागेको स्थानीय तहको निर्वाचनको चुनावी अभियानलाई थप आकर्षित गर्न दलहरूले गीत–संगीतलाई नै माध्यम बनाएका हुन्। चुनावी आमसभामा मतदातालाई आकर्षित गर्न दलहरूले कलाकारको टोली नै बोकेर हिँडेका छन्। आफ्नो पार्टीमा आस्थावान कलाकार बोकेर चुनावीसभामा पुगेपछि मतदाताको जमघटसमेत बढेको छ। आफ्नो पार्टीको गीतमा नृत्य प्रस्तुत गर्ने कलाकारले गाउँ–ठाउँको विकासमा केन्द्रित हुने पार्टीलाई भोट हाल्नसमेत आह्वान गरेका छन्।

 

नेकपा (एमाले) बेनी नगरपालिकाले गीत–संगीतसँगै अभिनयलाई प्राथमिकता दिएको छ भने अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसले समेत हरेक वडामा हुने चुनावी सभामा कालाकारलाई समेत प्राथमिकतामा राखेको स्थानीय पत्रकार सुरेन गुरूङले बताए। ‘भाषणले मात्रै मतदातालाई आकर्षित गर्न नसकेपछि दलहरूले सांगीतिक कार्यक्रममार्फत् चुनावी सभाको माहोल बनाएका छन्’, उनले भने। सत्तारूढ कांग्रेसले स्थानीय कलाकारलाई पारिश्रमिकसमेत दिएर चुनावी अभियानमा सहभागी बनाइरहेको जनाएको छ भने एमाले र माओवादी केन्द्रले समेत चुनावी खर्चबाटै समेट्ने गरी कार्यक्रम गरेको बताएको छ।

 

एमालेको बेनी नगरको कार्यक्रममा जिल्लामा स्थापित कलाकार नै सहभागी छन्। नाटक र अभिनयबाट अन्य दललाई आरोप लगाउन नपाइने भएकाले अनुगमनसमेत गरिने निर्वाचन कार्यालयले जनाएको छ। स्थानीय तह निर्वाचन आरसंहिता २०७८ ले ‘कसैको चरित्रहत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न वा कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न/नगराउन नहुने’ व्यवस्था छ। रासस