२०८१ कार्तिक १७ , शनिवार

अफगानिस्तान: तालिबानद्वारा महिलालाई बुर्का लगाउन आदेश, नमाने परिवारका पुरुष अभिभावकलाई कारबाही

सुनाखरी न्युज/ काठमाडौं –

तालिबान अधिकारीहरूले सार्वजनिक स्थानहरूमा अनुहार पूरै ढाक्ने गरी बुर्का लगाउन अफगान महिलाहरूलाई आदेश दिएका छन्।अघिल्लो वर्ष सत्ता कब्जा गरेयता उनीहरूले लगाएको कठोर नियन्त्रणका रूपमा यसलाई हेरिएको छ।

 

आफ्नो पहिलो शासनकालमा यस्तै व्यवस्था लागु गरेका उनीहरूले अघिल्लो वर्ष सत्ता हातमा लिएपछि बुर्का अनिवार्य गर्नेबारे कुनै आदेश दिएका थिएनन्। नैतिक आचरणमाथि नियमन गर्ने तालिबान मन्त्रालयले यो प्रतिबन्धलाई सुझाव भनेको छ।

जेल सजाय
तर यसको कार्यान्वयन नगर्ने महिलाका श्रीमान् वा पुरुष अभिभावकहरूलाई छोटो जेल सजाय सहितका कारबाही गर्ने चेतावनी दिइएको छ। तालिबानहरूले सत्ता हातमा लिएपछि कतिपय महिलाहरूले बुर्कासँग अफगान संस्कृतिको सम्बन्ध नभएको भन्दै प्रदर्शन गरेका थिए। तालिबानको पछिल्लो कदमलाई महिलाहरूको स्वतन्त्रतालाई थप कुण्ठित गर्ने उनीहरूको प्रयासका रूपमा हेरिएको छ।

 

बीबीसीका सिकन्दर केरमानी भन्छन्, “नैतिक आचरणमाथि नियमन गर्ने तालिबान मन्त्रालय हालैका सातामा सक्रिय बन्दै गएको छ।”उनका अनुसार उक्त मन्त्रालयले महिलाहरूलाई पुरुषबिना एक्लै लामो दूरीको यात्रा गर्न रोक लगाएको छ एवम् महिला र पुरुषलाई एकै समयमा पार्कमा जान रोक लगाएको छ। केरमानीका अनुसार कुनै महिलाले बुर्का नलगाएको अवस्थामा पहिलो चरणमा बुर्का नलगाउने महिलाको घर पहिचान गरी उनको परिवारका पुरुष सदस्यहरूलाई सुझाव दिइने छ।

 

फेरि पनि उक्त निर्णय पालना नगरिएको खण्डमा पुरुष अभिभावकलाई मन्त्रालयमा बोलाउनेदेखि अदालतसम्म लगेर कारबाही गर्नेसम्म भनिएको छ।आदेशले अन्यौल यसअघि अफगानिस्तानका ठूला सहरहरूमा महिलाहरूले धार्मिक कार्यक्रमहरूमा सल लगाउने गरेका थिए। तर काबुलजस्ता ठाउँमा उनीहरूले आफ्नो अनुहार ढाक्ने गरेका थिएनन्। पछिल्लो आदेशपछि त्यसमा कस्तो परिवर्तन देखिन्छ त्यसका लागि कुर्नुपर्ने केरमानीको टिप्पणी छ। सन् १९९६ देखि २००१ सम्म निलो रङ्गको अनुहार ढाक्ने बुर्का तालिबानहरूको कठोर शासनको विश्वव्यापी चिन्ह बनेको थियो।

 

अघिल्लो पटक शासन सम्हाल्दाको समयभन्दा आफू परिवर्तन भइसकेको तालिबानहरूले बताएका थिए। तर गएको मार्चमा महिलाहरूको विद्यालय खुल्ने दिन नै त्यसलाई बन्द गरिएको घोषणा गरेपछि राष्ट्रसङ्घ सहितका अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेका थिए।तालिबानहरूले शासन हातमा लिएयता अमेरिका र पश्चिमा देशहरूले अफगानिस्तानलाई उपलब्ध गराउँदै आएको विकास सहयोगमा कटौती गरेका छन्। अहिले र पहिलेको तालिबान शासनको बीचको दुई दशकको समयमा महिलाहरूलाई अध्ययन र रोजगारीका क्षेत्रमा रोकटोक थिएन। तालिबानहरूले अनुहार नढाक्ने महिलाका पुरुष अभिभावकहरूलाई तीन दिनसम्म जेलमा थुन्नसक्ने पनि चेतावनी दिएका छन्। बिबिसीबाट साभार