२०८१ आश्विन १४ , सोमवार

निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गरेको छ ।

 

हिजो जारी गरिएको बुलेटिनअनुसार हाल नेपालमा स्थानीय वायु र भारतको विहार–पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । साथै दक्षिण बङ्गालको खाडीमा चक्रवात ‘असानी’ विकसित भएको छ । उक्त प्रणाली उत्तरपश्चिम (भारत) तर्फ सर्ने क्रममा रहेको र वैशाख ३० गतेसम्म कमजोर अवस्थामा उत्तरी बङ्गालको खाडीमा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

उक्त प्रणालीको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावना देखिन्छ । सो कारणले आसन्न स्थानीय निर्वाचनमा देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

 

यो मौसमी प्रणालीका कारण निर्वाचन अवधिमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले मौसमी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप बुलेटिन जारी गर्ने जनाएको छ ।

 

मौसम विश्लेषण (Meteorological Analysis)

हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ। साथै, हाल दक्षिण बंगालको खाडीमा चक्रवात “असानी“  विकसित भएको छ। उक्त प्रणाली उत्तरपश्चिम (भारत) तर्फ सर्ने क्रममा रहेको र वैशाख ३० गते (२०२२ मे १३) सम्म कमजोर अवस्थामा उत्तरी बंगालको खाडीमा रहने सम्भावना रहेको देखिन्छ ।उक्त प्रणालीको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावना देखिन्छ ।

चित्र 1 हाल दक्षिणी बंगालको खाडीमा बनेको सामुद्रिक आँधी “असानी” को हिमावरी भू-उपग्रहबाट दिउँसको १:३५ मा प्राप्त तस्विर

सो कारणले आसन्न स्थानीय निर्वाचन अवधि २०७९ बैशाख २८ बुधबार देखि बैशाख ३१ गते शनिबार सम्मको मौसम पूर्वानुमान यस प्रकार रहने देखिन्छ :

 २०७९ वैशाख २८ गते (बुधबा) : देशभर आंशिक देखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा  मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। साथै मधेश, कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका  थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख २९ गते (विहिबा: देशभर आंशिक देखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका  थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।साथै तराईका भू-भागहरुमा हावाहुरीको सम्भावना पनि रहेको देखिन्छ ।

२०७९ वैशाख ३० गते (शुक्रबा) : देशभर आंशिक देखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको केही स्थानहरुमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। साथै मधेश, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका  थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख ३१ गते (शनिवार) : देशको प्रदेश १, बागमती प्रदेश, मधेश प्रदेश तथा गण्डकी प्रदेशका आंशिक देखि सामान्य बदली रहने तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको संभावना रहेको छ। साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका एक वा दूई स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यो मौसमी प्रणालीका कारण निर्वाचन अवधिमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध  छ । मौसम पूर्वानुमान महाशाखाले माथि उल्लेखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकता अनुसार थप बुलेटिन जारी गर्नेछ।

यस महाशाखाबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिनेछ । तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन समेत अनुरोध छ। मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोला ।